राजनीतिज्ञ र विज्ञका नजरमा सरकारका सय दिन

maitrinews

 


: मोहन बास्तोला  काठमाडौँ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) एवं वर्तमान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गत फागुन तीन गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष जनताका नाममा सपथ लिनुभएको थियो । उहाँले सपथ लिएको शनिबार १ सय दिन पूरा भएको छ । उहाँले प्रधानमन्त्री पदको सपथ लिएका सय दिनलाई विभिन्न कोणबाट चर्चा गरिएको छ ।
उहाँले नेतृत्व सम्हालेपछि नै दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको छ । दुई ठूला कम्युनिष्ट पार्टी मिलेपछि अहिले नेपाल कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबै भन्दा ठूलो र एशियाको तेस्रो ठूलो दल बनेको छ ।
ओली नेतृत्वको सरकार गठन भएपछि सुन तस्करीको जालो खोतल्ने, यातायात सिण्डकेटको अन्त्य गर्ने, विराटनगरमा भारतीय दूतावासको फिल्ड अफिस विस्थापन गने ? छिमेकी मुलुक भारतसँग केही चिसो बनेको सम्वन्धलाई सुधार गर्ने, सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने वैदेशिक रोजगारीमा देखिएको समस्यालाई केही हदसम्म भएपनि समाधान गर्ने, सरकारी खर्चमा हुने विदेश भ्रमणलाई कटौति गर्ने, विमानस्थल सुधार गर्ने जस्ता सकारात्मक काम वर्तमान सरकारले गरेको छ । सरकारका यी सकारात्मक कामले सरकारका सय दिन सुनौला बनेको भन्न सकिन्छ ।
प्रधानमन्त्री स्वयमले पनि सरकारका सय दिन निकै सुनौलो बनेको दाबी गर्नुभएको छ । सय दिन पूरा भएको सन्र्दभमा सम्वोधन गर्दै यातायातको डरलाग्दो सिण्डिकेटलाई कहिल्यै जोडिन नसक्ने गरी अन्त्य, तस्करी विरुद्धको धावा बोल्नु जस्ता कुरालाई उहाँले सरकारको सय दिनका सकारात्मक काम भएको दाबी गर्नुभएको छ । उहाँले काम नगर्ने तर योजना ओगटेर बस्ने ठूला ठकेदारमाथि कारवाही सुरु गर्ने कुरालाई पनि सरकारका सय दिनका सुनौला काम भन्नुभएको छ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको उद्घाटन जस्ता कुरालाई पनि उहाँले सरकारका सय दिनका सुनौला काम भन्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले पनि सरकारका सय दिन निर्वाचनका बेला जनताका बीचमा लगेको घोषणापत्रमा उल्लेख भए अनुरुप नै अघि बढेको दाबी गर्नुभयो । ‘सरकारका सय दिनको विवेचना गर्दै गर्दा हामीले विगतको पनि मूल्याङ्कन गर्नुपर्छ । यो सरकार गठन हुँदा काँग्रेस नेतृत्वको सरकारले गरेको विकृतिका चाङ कति थिए भन्ने कुरालाई पनि भुल्नु हँदैन,’ उहाँले भन्नुभयो, ‘सरकराले सय दिनमा के गर्यो भन्ने भन्ने प्रश्न जहाँसम्म छ । निर्वाचनका बेला घोषणपत्रमार्फत तत्कालिन नेकपा एमाले र नेपाका माओवादी केन्द्रले जे–जस्ता बाचा गरेका थिए । ती वाचा पूरा गर्नेतर्फ केन्द्रित भएको देखिन्छ ।’
उहाँले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि ती कुरा प्रष्ट आएको भन्दै भन्दै विगतको त्यस्तो लामो संक्रमणकाल, अस्थिरता, द्वन्द्व, नेपाली काँग्रेसले गरेका गलत कामको चाङलाई पार लगाएर अघि बढ्नुलाई पनि सरकारको सय दिनको सफलता भएको दबी गर्नुभयो ।
प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टीका नेता मात्र होइन विभिन्न क्षेत्रका विज्ञहरुले पनि सरकारका सय दिनलाई सकारात्मक भनी टिप्पणी गर्नुभएको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व राजदूत शंकर शर्माले पनि सरकारका सय दिनको खुलेर प्रसंशा गर्नुभएको छ । उहाँले भारतसँगको सम्बन्ध सुधार सरकारको सय दिनको सबै भन्दा ठूलो उपलब्धि भएको बताउनुभयो । ‘सय दिनमा सरकारले नेपाल र भारतबीचको सम्वन्धनमा निकै सुधार गरेको छ । त्यसैगरी सरकारले म पाँच वर्षे सरकार हो । त्यसैले ठूलै सपना दिन्छु र ठूलै सपना कार्यान्वयन गर्छु भन्ने जुन प्रतिवद्धता जायर गरेको छ यो राम्रो कुरा हो,’ उहाँले भन्नुभयो, ‘दुई अंकको आर्थिक वृद्धिदर हाँसिल गर्ने, आर्थिक समृद्धिको नारालाई मूर्तरुप दिने जस्ता कुरा चुनौतिपूर्ण छन् । यसमा सरकार लाग्नुपर्छ ।’
उहाँले पहिलाको अर्थतन्त्र बजारमुखी, उदारिकरण र स्वास्थ्य–शिक्षा क्षेत्रमा बढी पहुँचयुक्त भएको वर्तमान सरकारले ल्याउने बजेट स्वदेशी उत्पादनमा जोड दिने खालको होस् भनि सुझाव पनि दिनुभयो ।
त्यस्तै पूर्व अर्थ सचिव रामेश्वर खनालले पनि ओली सरकारको सय दिनको खुलेर प्रसंशा गर्नभयो । ओली सरकारको सय दिन सुनौलो भएको भन्दै उहाँले संस्थागन सुशासन, समृद्धिको सपना जस्ता कुरामा सरकार सफल भएको दाबी गर्नुभयो ।
उहाँले वामपन्थी सरकार बनेपछि राज्यको नियन्त्रण हुन्छ भन्ने भ्रमलाई सरकारले चिरेको भन्दै नामले वामपन्थी भए पनि सरकार उदारवादी भएको भन्दै यसलाई सकारात्मक भन्नुभयो । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा बरिष्ठ पत्रकार किशोर श्रेष्ठले छिमेक सम्बन्धको सुधार, नीति तथा कार्यक्रम सर्वस्वीकार्य हुनुजस्ता कुरा सरकारको सय दिनको सफलता भएको बताउनुभयो । त्यस्तै उहाँले भोलि आउने बजेट सँधै सबैले सम्झिरहने आओसभन्दै सञ्चारकर्मीको हीतमा पनि बजेटले बोल्नुपर्ने बताउनुभयो ।
वर्तमान सरकारले जेठ १५ अर्थात आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । पहिलो पटक दुई तिहाई नजिक रहेको कम्युनिस्ट नेतृत्वको सरकारले पहिलो पटक ल्याउन लागेको बजेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । पहिलो पटक २०५१ सालमा तत्काली नेकपा एमालेको एकल नेतृत्वको सरकार गठन हुँदा आफ्नो गाउँ आफैँ बनाउँ, वृद्ध भत्ता जस्ता जनमुखी कार्यक्रम ल्याएर लोकप्रियता कायम गरेको इतिहासलाई अझ उचाईमा पु¥याउनुपर्ने दायित्व वर्तमान सरकारको काँधमा छ ।