प्रधानमन्त्री ओलीले प्रदेश ३ को बैठकलाई सम्बोधन गर्नुहुँदै Live

maitrinews

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै हुनुहुन्छ। प्रदेश ३ को आज बस्न लागेको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रदेश ३ को संसद सचिवालयले आज बस्न लागेको प्रदेशसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सिमेन्ट उत्पादन गरेर भारत निर्यात गर्न सकिने बताउनुभएको छ । 

प्रदेश ३ को संसदलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतका धेरै राज्यमा चुनढुंगा खानी नभएकाले मूल्यमा भारतले नेपालसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभएको हो । ‘भारतमा सस्तो सिमेन्ट उपलब्ध गराउन सकिन्छ । भारतका धेरै राज्यमा चु्नढुंगा छैन’ उहाँले भन्नुभयो,‘भारतले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैन । किन भने उसँग चुनढुंगा छैन ।’

प्रधानमन्त्रीले हेटौंडाको कपडा कारखाना सञ्चालन गर्ने पनि बताउनुभयो । ‘हेटौंडा कपडा उद्योग चलाइन्छ, त्यसका लागि नयाँ मेसिन ल्याइन्छ’ उहाँले भन्नुभयो,‘यसमा प्राइभेट सेक्टर पनि ल्याइन्छ ।’

उहाँले कपडा उद्योग सरकारले मात्र चलाउँदा प्रतिफल नदिने बताउनुभयो । ‘सरकारी मात्र भयो भने घाँस हाल्ने कोही हुँदैन, दूध खाने मात्र हुन्छ’ उहाँले भन्नुभयो ।  
प्रधानमन्त्री ओलीले नेपालमा जनताको सरकार स्थापना भएकाले नेपालमा कोही भोकै नमर्ने बताउनुभयो । ‘अब म दावाका साथ भन्छु, कोही नेपाली भोकै पर्दैन, कोही नेपाली भोकै मर्दैन । किनभने यो देशमा जनताका लागि सरकार छ । चुनौती पनि छ, तर त्यो अवसरमा रुपान्तरण हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउछु भनेर नै अस्वस्थताका बावजुद दैनिक अठार बीस घन्टा काम गरिरहेको बताउनुभयो

सोमवार ३ नं प्रदेश सभालाई विशेष सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भन्नुभयो, ‘११ वर्ष भयो मैले किड्नी फेरेको। बुढो पनि भइसके। सबै पाटपुर्जा फेरेको जस्तो छु। तैपनि बीस घन्टा खटिएको छु । हिजो पनि २ बजे सुतेको, अस्ती पनि २ बजे राती सुतेको हुँ।’

‘पूर्व प्रधानमन्त्रीको सूचीमा मेरो फोटो अगाडि नै झुन्डिइसकेको छ। अब त्यहाँ मेरो नयाँ फोटो राख्ने पनि हैन, त्यसैले काम गर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ’आरामदायी जिन्दगी विताउन सक्थे । मुलुक बनाउँछु भनेर नै म खटिएको हुँ। हामी हरेकका काम गर्ने भावना चाहियो।’

संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन । तर विदेशी सरकार प्रमुख या राष्ट्रप्रमुखले भने प्रदेश सरकारलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सम्बन्धित सभाका सभामुखसँग अनुमति लिनुपर्ने व्यवस्था प्रदेश नियमावलीमा छ । यसअघि प्रधानमन्त्री ओलीले वैशाख १६ मा प्रदेश ५ को सभालाई सम्बोधन गर्नुभएको थियो । उहाँले अन्य प्रदेशसभा बैठकलाई पनि सम्बोधन गर्ने योजना बनाउनुभएको छ ।