प्रम ओलीको चीन भ्रमणमा केरुङ—काठमाडौँ रेलमार्गको सम्झौता हुने

maitrinews

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्गको एजेण्डाले प्राथमिकता पाउने भएको छ ।
ओली असार ५ मा चीनको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । र, भ्रमणको तयारी अन्तिम चरणमा छ ।

१४ चैत २०७२ मा ओलीले चीनसँग व्यापार तथा पारवहन सम्झौतालगायत १० बुँदे सहमति गर्नुभएको थियो । तर, सम्झौता कार्यान्वयनले अपेक्षाकृत गति लिन नसकिरहेका बेला ओली प्रधानमन्त्रीका रुपमा फेरि चीन जाँदै हुनुहुन्छ । यो भ्रमणमा विगतका सहमति कार्यान्वयनसँगै रेलबारे के सम्झौता होला भन्ने चासो सबैलाई छ ।

प्रधानमन्त्री ओलीले केरुङबाट रसुवागढी हुँदै काठमाडौंसम्म रेल चढ्नेमा ढुक्क भए हुन्छ भन्नुभएको छ । तर, अहिले भइरहेको पूर्व सम्भाव्यता अध्ययन सकिएपछि मात्रै यसको निर्माण सम्भव छ वा छैन भन्ने टुंगो लाग्नेछ ।

प्रधानमन्त्री ओली भने केरुङ–काठमाडौं रेलमार्गलाई जसरी पनि अघि बढाउने ‘मुड’मा देखिनु भएको छ। स्रोतका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीच रसुवागढी–काठमाडौं रेलको सम्भाव्यता अध्ययन गर्ने समझदारी हुनेछ ।

अहिले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलको पूर्व सम्भाव्यता अध्ययन भइरहेको छ । पूर्वसम्भाव्यता अध्ययनले निर्माण संभव हुने देखाएपछि मात्रै डीपीआर निर्माण अघि बढाइनेछ । पूर्वसम्भाव्यता अध्ययन नसकिएका कारण यसपाली भने सम्भाव्यता अध्ययन अघि बढाउने मात्रै सम्झौता हुने स्रोत बताउँछ ।

‘ओलीको भ्रमणपछि चिनियाँ राष्ट्रपति सी जिङपिङ पनि नेपाल आउने चर्चा छ, त्यसबेलासम्म पूर्वसम्भाव्यता अध्ययनको पनि रिपोर्ट आइसक्छ,’ स्रोतले भन्यो, ‘पूर्वसम्भाव्यता अध्ययनमा निर्माण सम्भव देखियो भने चिनियाँ राष्ट्रपति नेपालका आउँदा डीपीआर र निर्माण सम्झौता गर्ने सरकारको योजना छ ।’

रणनीतिक महत्वको रेल

गत कात्तिकमा चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री चेङ जियान नेतृत्वमा आएको २३ सदस्यीय टोलीले स्थलगत अध्ययन गरेर गएको थियो । यसपछि हालैमात्रै चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्यूटबाट आएको चिनियाँ प्राविधिकको टोलीले फिल्डमै पुगेर अध्ययन गरेर फर्किएको छ ।

रेल विभागका अधिकारीहरुका अनुसार केरुङबाट काठमाडौं आउने रेलमार्ग करिब ९० प्रतिशत सुरुङ र पुलमा बनाउनुपर्छ । यो ७२ किलोमिटर लामो हुने अनुमान गरिन्छ ।

उत्तर क्षेत्रबाट आउने रेलले हिमाल, पहाड र ठूला खोंचहरु पार गर्दै आउनुपर्छ । चीनतर्फको केरुङ नाका समुद्र सतहबाट करिब ४५ सय मिटर माथि छ । यही मार्गमा पर्ने रसुवाको स्याफ्रुबेसी १५ सय मिटरको उचाइमा छ । यसरी चिनियाँ रेल स्याफ्रुबेसी आइपुग्दा नै ३ हजार मिटर तल ओर्लनुपर्छ ।

काठमाडौैं उपत्यका भने समुद्र सतहबाट १३ सय मिटरमाथि छ । यसरी हेर्दा केरुङ, स्याफ्रुबेसी हुँदै काठमाडौैंसम्म आइपुग्ने रेल ३२ सय मिटर ओर्लनुपर्छ ।

त्यसैले यो रेलमार्ग निर्माण निकै चुनौतीपूर्ण हुने मत चिनियाँ अधिकारीहरुको छ । नेपालमै पनि चुनौतीपूर्ण मात्र होइन, लागत पनि निकै धेरै भएकाले रेलमार्ग सरकारको पहिलो प्राथमिकता हुन नहुने तर्क पनि सुन्ने गरिन्छ ।