प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने : प्रचण्ड

maitrinews

 


विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भए पनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ को सरकारको नेतृत्व वा सरकारमा नहुने प्रष्ट पार्नुभयो ।

उहाँले वर्तमान अवस्थामा बहुदलीय व्यवस्थाअन्तर्गत प्रतिष्पर्धात्मक निर्वाचनमा गएर सरकार निर्माण भएकाले तत्काल कार्यकारी राष्ट्रपति प्रणालीमा जाने सम्भावना नरहेको बताउनुभयो ।

आगामी निर्वाचनमा यस सम्बन्धमा जनताको अभिमत बुझेर नै निर्णय गरिने धारणा उहाँले व्यक्त गर्नुभयो ।

उहाँले माओवादी द्वन्द्वमा पीडित भएकाको समस्या समाधान सत्यनिरुपण आयोगले सुस्तगतिमा काम गरेकाले र अझै धेरै काम गर्न बाँकी रहेकाले आयोगको म्याद थप्ने विषयमा छलफल भइरहेको उल्लेख गर्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले निर्माण व्यवसायीले तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने व्यवसायीलाई राज्यले कारवाही गर्ने बताउँदै यस सम्बन्धमा सञ्चार माध्यममा आएजस्तो कुनै कार्य आफूबाट नभएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले जिम्मेवारी लिइसकेपछि तोकिएको समयमा काम पूरा गर्नु निर्माण व्यवसायीको पनि दायित्व हो भन्दै गुणस्तरहीन काम गर्ने व्यवसायीलाई कारवाही गर्र्ने विषयमा मन्त्री वा कसैलाई रोक्न कुनै दबाब नदिएको स्पष्ट पार्नुभयो ।

उहाँले जनताको चाहनाअनुसार मुलुकमा संघीयता कायम भएकाले तीन तहको सरकार निर्माण भइसकेकाले अबको एजेण्डा भनेको मुलुकमा सुशासन र आर्थिक समृद्धि भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले संघीयता मुलुकका लागि पहिलो अभ्यास भएकाले र सोहीअनुसार कर्मचारी र जनप्रतिनिधिलाई काम गर्न केही असहज भएपनि निकट भविष्यमा सो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले समायोजनका लागि बाध्य भएर सरकारले नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको स्पष्ट पार्नुभयो ।

यसैबीच,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताउनुभएको छ ।

उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन समारोह एवं ४६औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता र नयाँ राजनीतिक प्रक्रिया शुरु भइसकेपछि सबैभन्दा बढी उद्योग संगठनका पदाधिकारीहरुसँग छलफल गरेको जानकारी दिँदै निजी क्षेत्रसंगको सहकार्यबिना मुलुकमा आर्थिक विकास गर्न सम्भव नभएको बताउनुभयो ।

उहाँले राजनीतिक स्थिरता कायम गर्न आफूले साहसिक निर्णय गरेको र यसैको उपजबाट दुवै कम्युनिष्ट पार्टी एक भएको भन्दै राज्यमा ठूला–ठूला परिवर्तन राजनीतिक पार्टीहरुको एकता र सहकार्यबाट नै सम्भव भएकोमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले शान्ति सम्झौतापछि १० वर्ष संविधान र लोकतान्त्रिक संरचना निर्माण गर्नमा समय खर्च भएको विचार राख्दै अबको दशकमा विकास निर्माण र समृद्धिका लागि संकल्प गर्न सबैसँग आग्रह गर्नुभयो ।

राजनीतिक चेतना र आर्थिक विकासको क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गरेको विराटनगरवासीले अब आर्थिक विकासको संकल्प लिनुपर्ने समय आएको बताउंदै उहाँले चीनसँगको आर्थिक र व्यापारिक साझेदारी कायम गर्न किमाथाङको बाटो बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति, युवालाई रोजगार, बन्द उद्योग सञ्चालन र नयाँ उद्योग स्थापना गर्न कोशेढुंगा बन्ने भन्दै नयाँ बजेटले आर्थिक स्थिति सुदृढ गर्ने र व्यापार घाटा कम गर्ने सिद्धान्तबाट प्रेरित भएर आएको जानकारी दिनुभयो ।

भारत–चीन दुवै देशका नेता तथा जनताले नेपालको विकास र समृद्धि होस् भन्ने चाहेको बताउँदै अध्यक्ष प्रचण्डले कृषिमा आधारित उद्योगलाई प्राथमिकतासाथ अघि बढाउनुपर्छ भन्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रसँग साझेदारी तथा हातेमालोबिना आर्थिक विकास सम्भव नभएको बताउनुभयो ।

जिल्ला उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्यायले संगठनको गतिविधिबारेमा जानकारी गराउनुभएको थियो ।

उद्योग तथा व्यापारमा उल्लेखनीय योगदान पुृ¥याउने महेन्द्र गोल्छा, जुद्धबहादुर श्रेष्ठलाई मरणोपरान्त सम्मान गर्नुका साथै संगठनलाई सहयोग गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, सञ्चारकर्मी नवीन कर्ण, गणेश लम्साल, सच्चितानन्द यादव, बज्रभूषण चौधरीलगायतलाई सम्मान पनि गरिएको थियो ।