बाबुरामलाई पौडेलको अपिल–‘नयाँशक्तिमै बसेर समाजवाद उन्मुख राज्य प्रणाली निर्माण हुँदैन’

maitrinews


काठमाडौैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकतालाई ऐतिहासिक अवसर भन्नुभएको छ । उहाँले हिजोका दिनमा जनताले विभिन्न खाले अधिकार प्रातिका लागि निकै लामो संघर्ष र आन्दोलन गरेको स्मरण गर्दै भन्नुभयो, ‘विगतमा गरेका ती आन्दोलन र संघर्षको एकमुष्ठ प्राप्तिका रुपमा यो एकीकरणलाई हेर्नुपर्छ ।’ उहाँले विकास, समृद्धि र सुशासनको कार्यक्रम सहित समाजवाद उन्मुख राज्य प्रणाली निर्माण गर्नका लागि यी दुई पार्टी बीचको एकता कोशेढुंगा सावित हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
अहिले दुई पार्टी बीच एकता भए पनि नेता–कार्यकताबीचमै भावनात्मक एकता नभएको भन्ने चर्चालाई उहाँले गलत भन्नुभयो । ‘हामी दुई पार्टी एक हुँदै गर्दा भावनात्मक रुपमा पनि एक भएका छौँ । अझ माथिल्लो तहमा भन्दा पनि तल्लो तहका कमिटी र संगठनहरुमा भावनात्मक एकता भएको हामीले बुझेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले निर्वाचनका बेलामा जसरी एउटै संयुक्त घोषणापत्र लिएर जनताको घर–दैलोमा गएका थियौँ । त्यसैबेलादेखि नै तल्लो तहका कमिटी र संगठनमा भावनात्मक एकताको जग बसिसकेको थियो । अहिले त्यो झन बलियो भएको छ ।’
उहाँले नेपालका कम्युनिष्ट पार्टीको स्थापना गर्दा कमरेड पुष्पलालले जुन सपना देख्नु भएको थियो अहिले त्यो सपना पूरा भएको पनि दाबी गर्नुभयो । ‘उहाँले आफ्नो जीवनकाल भरी यति शक्तिशाली कम्युनिष्ट पार्टी देख्न पाउनु भएन । फेरि पनि भन्छु उहाँको जीवनकाल पछि पनि उहाँको सपना पूरा भएको छ । यसमा पनि हामी खुशी छौँ,’ उहाँले भन्नुभयो, ‘पुष्पलालको यो सपना पूरा हुनु भनेको आम नेपाली जनताको चाहना र सपना पनि पूरा हुने दिशामा हामी गएका छौँ भन्ने संकेत हो ।’
उहाँले डाक्टर बाबुराम भट्टराईलाई पनि नेपाल कम्युनिष्ट पार्टीमा समाहित हुन आग्रह गर्नुभयो । ‘तत्कालिन परिस्थितिलाई बुझेर, जनताको भावनालाई बुझेर अघि बढ्न नसक्ने हो भने जुनसुकै पार्टी पनि जनताको बीचमा स्थापिन हुन सक्दैन । सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याएर समृद्ध नेपाल निर्माण गर्ने दायित्व पनि हाम्रो काँधमा छ,’ उहाँले भन्नुभयो, ‘यो अभियानमा हामी अहिले पनि बाबुरामजीलाई एकैसाथ हिडाउँ भन्नेमा छौँ । हामीले उहाँलाई हार्दिकता पूर्वक अपिल पनि गरेका छौँ । यो अभियानमा आउने नआउने भन्ने उहाँको कुरा हो । त्यो कुराचाहिँ उहाँलाई नै सोध्नुहोला ।’