भारतका बरिष्ठ पत्रकार बुखारीको गोली हानी हत्या

maitrinews


जम्मु । जम्मु कश्मीरमा भारतका वरिष्ठ पत्रकार एवम् ‘राइजिङ कश्मीर’ का सम्पादकको गोली हानी हत्या भएको छ ।

बिबिसीका अनुसार राजधानी श्रीनगरमा बिहीबार सम्पादक सुजात बुखारीको गोली हानी हत्या भएको हो।
प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट एउटा पार्टीमा जाँदै गर्दा अज्ञात समूहद्वारा गोली प्रहार भएको थियो।

मोटरसाइकलमा आएका आक्रमणकारीको प्रहारबाट सम्पादक बुखारीमाथि अन्धाधुन्द गोली हानिएको समाचारमा जनाइएको छ। गोली प्रहारबाट उनका निजी सुरक्षाकर्कीकोसमेत ज्यान गएको छ।

अहिलेसम्म कसैले पनि हत्याको जिम्मा नलिए पनि काश्मीर प्रहरीले संदिग्ध हमलाकारीको तस्बिर सार्वजनिक गरेको छ।

यसैबीच जम्मु कश्मीरका मुख्यमन्त्री महबूबा मुफ्तीले बुखारीको हत्यामा शोक व्यक्त गरेकी छन्। बुखारी सम्पादक बन्नुअघि करिब १५ वर्ष कश्मीरबाट ‘द हिन्दु’ का संवाददाता थिए।
यसअघि सन् २००० मा पनि उनीमाथि हत्या प्रयास भएको थियो। त्यसपछि उनको सुरक्षाका लागि प्रहरी खटाइएको थियो।

काश्मीरमा शान्ति स्थापनाका लागि लामो समयदेखि सक्रिय उनी शान्ति र सुरक्षा जस्ता मुद्दामा हुने कार्यक्रममा सधैं सहभागी हुने गरेका थिए।

उनको हत्या हुनुअघि उनले बिहीबार अन्तिम ट्वीटमा भनेका थिए,‘कश्मीरमा हामीले गर्वका साथ पत्रकारिता गरिरहेका छौं, यहाँ जे पनि भइरहेको ती सबै जनताका अगाडि ल्याइरहनेछौं।’