नेपालको अखण्डता अक्षुण्ण राख्न चीन सधैँ साथमा : सी

maitrinews

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्नका लागि चीन सधै साथमा रहने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी ओलीसँग बुधबार दिउँसो भएको भेटवार्ताका क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

ग्रेट हल अफ पिपल्समा भएको दुई देशको प्रतिनिधि मण्डलसहितको बार्तामा राष्ट्रपति सीले नेपालले एक चीन नीति अख्तियार गरिहरेकोमा र नेपाली भूमिबाट कुनै पनि चीन विरोधी गतिविधि हुन नदिएकोमा आभार प्रकट गर्नुभयो।

उहाँले नेपालले नयाँ संविधान पाएको र निर्वाचनमार्फत नयाँ समाजिक व्यवस्था अवलम्बन गरेर स्थायित्वतिर अघि बढेकोमा समेत खुशी प्रकट गर्नुभयो ।

प्रतिनिधिमण्डलसहितको वार्ता अघि प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच करीब ४५ मिनेट एक्ला–एक्लै वार्ता भएको थियो । वार्तामा दुई पक्षीय हित र सहयोग अदानप्रदानका बिषय छलफल भएको बताइएको छ ।

राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न र नेपालको विकासमा साझेदार बन्न आफु तयार रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई पुनः पाँच वर्षको लागि निर्वाचित भएकोमा बधाई दिनुभयो ।