ओलीको दोस्रो चीन भ्रमण अधुरा सम्झौता पूरा गर्ने सेतु —मोहन बास्तोला

maitrinews


सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएको दुई हप्ता वित्न लागेको छ । यी दुई हप्तामा ओलीको भ्रमणको विषयलाई लिएर गरिने तात्ताता बहस अहिले पनि जारी छन् । यो प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीको हैसियतमा दोस्रो र दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछिको पहिलो चीन भ्रमण हो । ओलीले सन् २०१६ मा पहिलो पटक प्रधानमन्त्रीको हैसियतमा गरेको चीन भ्रमण भन्दा यो भ्रमणलाई अलिक फरक र अलिक गहिराईमा गएर विश्लेषण गर्नु पर्ने विदेश मामिलाका जानकारहरुले पनि मत राख्ने गरेका छन् । ओलीको पहिलो भ्रमण विषम परिस्थितिमा भएको थियो । यो भ्रमण कम्तीमा पनि चार–पाँच वर्ष टिक्न सक्ने स्थायी सरकारका हैसियतमा भएको छ । त्यसकारण पनि अहिले ओलीले गरेको चीन भ्रमणको अर्थ र महत्व अलिक फरक र गहिरो भएको विश्लेषण गरिएको छ ।
१ सय १९ जनाको टोलीसहित चीनको ६ दिने औपचारिक भ्रमण गर्नुभएका ओलीले भ्रमणका क्रममा दुई देशबीच दूरगामी महत्वका यातायात सञ्जाल, ऊर्जा, पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रमा सम्झौता र समझदारी गर्नुभएको छ । स्थायी सरकारको प्रधानमन्त्रीको हैसियतमा गरिएका यी सम्झौता र समझदारी सकारत्मक छन् । तर, सकारात्मक छन् भन्दै सुगा रटेजस्तो रटेर मात्र बस्ने हो भने कार्यान्वयन नहुने पनि त्यत्तिकै चुनौति छ । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यकै शब्दलाई सापटी लिने हो भने पनि चिनियाँ नेतृत्व साच्चिकै सकारात्मक हुने हो भने दुई पक्षीय सहकार्य र विकासमा परिवर्तन आउनेमा दुईमत छैन ।
पछिल्लो समय प्रधानमन्त्री ओली दुई छिमेकसँग समधुर कुटनीतिक सम्वन्धन राख्ने अभियानमा हुनुहुन्छ । केही समय अघि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा देखाएको उदारता त्यसको एउटा संकेत हो । यस अघि नै भारतको भ्रमण गरिसक्नु भएका ओलीले चीनको भ्रमण गरेर दुवै देशसँग सम्बन्ध राम्रो राख्न चाहेको संकेत गर्नुभएको छ । भारत भ्रमण र चीन भ्रमण दुवैमा ती देशका राष्ट्र प्रमुख र समकक्षीहरुले देखाएको सद्भावले पनि त्यही संकेत गर्छ । विदेश मामिलाका जानकार डाक्टर राजन भट्टराईका भनाई पनि त्यसैप्रति लक्षित छन् ।
पूर्व परराष्ट्रसचिव एवं पूर्व राजदूत डा.मदनकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने औपचारिक चीन भ्रमण निकै फलदायी भएको टिप्पणी गर्नुभएको छ ।
उहाँले भेटघाट, सहमति र समझदारी पत्रमा हस्ताक्षर जस्ता कुरा सकारात्मक भएको भन्दै गर्दा राष्ट्र प्रमुख वा सरकार प्रमुखसँग भएको सहमति र समझदारीपत्रले सबै कुरा ‘एचिभ’ गर्छ भन्ने नहुने भन्दै यस्ता सहमति र समझदारीले दिशा निर्देश गर्ने बताउनुभयो । कार्यान्वयन गर्नेे मन्त्रीस्तर वा सचिवस्तरबाट वा अन्य लेवलबाट भएको उहाँको तर्क छ । त्यसैले अब सहमति र समझदारी पत्रमा हस्ताक्षर भैहाल्यो भनेर चुप लाग्ने कुरा पनि त्यति अर्थपूर्ण नहोलान कि ?
त्यसैले द्विदेशीय सम्बन्ध सुदृढ बनाउँदै आपसी विश्वासको वातावरण तयार पार्ने र मुलुकलाई ‘समृद्ध’ बनाउने अभियानमा जुट्नु भएका ओली र ओलीको टोलीले सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गरेपछि अब सबै सपना पूरा भए भनेर हात बाँधेर बस्नु त्यति उचित हुँदैन । उहाँले विगतमा भएका कयौँ सम्झौता र समझदारीहरु कार्यान्वयन नभएको इतिहासलाई पनि गहिरोसँग अध्ययन गर्न जरुरी छ र उहाँको यात्रामा सबैले साथ दिन पनि उत्तिकै आवश्यक छ ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा दुई मुख्य कुरा भनेको ‘कनेक्टिभिटी’ र सीमा सम्बन्ध विस्तार पनि हो । पछिल्लो समय दिल्लीलाई खुश बनाउन सफल ओलीले नरम बोल्ने, राम्रै भन्ने, कसैलाई चिढ्याउन नचाहने वेइजिङलाई कति खुशी बनाउनुभयो यसले पनि धेरै कुरा निर्धारण गर्ने छ ।
यी कुराहरु गर्दै गर्दा आचार्यकै शब्दमा ‘चीनलाई ‘राजनीतिक सेन्टिमेण्ट’ सँग होइन ‘इकोनोमिकल भाएबिलिटी’बाट हेर्न जरुरी छ । भारत लम्कँदो हात्ती र चीन उड्दो ड्रागन हो भने हामी सुस्त गतिमा मुण्टो लुकाएर हिड्ने कुछुवा हौँ, हामीले अब कछुवा होइन खरायो गतिमा डौडिनुपर्छ ।’ हो अहिले ओलीको समृद्ध नेपाल खुशी नेपालीको नारा आचार्यको भनाईसँग मिल्दो छ । तर, कथनी र करणी फरक कुरा हुन् अर्थात ओलीका लागि यो चुनौति पनि हो । तीन वर्ष अघिको शक्तिशाली भूकम्पले भत्किएको तातोपानी नाका अहिलेसम्म व्यवस्थित बन्न नसकेका बेला पहाड फुटाएर वा सुरुङ खनेर चुच्चे रेल नेपालको राजधानी काठमाडौँ हुँदै लुम्बिनी पुरउने कुरा सुन्दा कर्णप्रिय भए पनि व्यवहारमा निकै कठिन कुरो हो ।
यद्यपि, प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा दुई देशबीच हस्ताक्षर गरेका १० ओटा समझदारीपत्र र चार ओटा ‘लेटर अफ एक्सचेन्ज’ लाई निकै महत्वका साथ हेरिएको छ । त्यसमा पनि मुख्य गरेर ट्रान्स हिमालयन रेलवे निर्माणका लागि गरिएको सम्झौता निकै दूरगामी महत्वको छ । चीन र नेपाललाई रेलमार्गसँग जोड्ने यो सम्झौताले ओलीको रेल र तेलको सपनालाई केही हदसम्म भए पनि साकार गर्ने संकेत देखाएको छ ।
चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किने क्रममा पनि प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुलाई रेल कनेक्टिभिटीबारे भएको सहमति सबैभन्दा महत्वपूर्ण भएको भन्दै नेपाल र चीन जोड्ने रेलमार्ग निर्माणबारे हतारमा नभई परिपक्व ढंगले निर्णय गरिने बताउनुभएको थियो । निकै ढुक्कका साथ ओलीले भ्रमणका क्रममा दुई देशबीच केरुङ–रसुवागढी–काठमाडौं रेलमार्गका लागि चिनियाँ अनुदानमा पूर्वसम्भाव्यता अध्ययन गर्ने सहमति भएको पनि जानकारी दिनुभयो । उहाँका यी भनाईले चीनप्रति आफू विश्सस्त रहेको संकेत गथ्र्यो ।
उहाँले काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि आधार तयार भएको भन्दै चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको भेटमा यस्तो योजना माओले समेत बनाएको भन्दै नेपालमा रेल र्पुयाउने आफ््नो भिजन रहेको बताएको पन्तुरो खोतल्दा सँगै छेऊमा बस्नुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि मुस्कुराउनु भएको थियो । ओली र ज्ञवाली दुबैको मुस्कानमा चिनियाँ राष्ट्रपतिले निकै महत्व दिएको भाव प्रष्ट देखिन्थ्यो ।
अन्त्यमा, ओली को रेल र तेलको सपना पूरा हुन सकोस शुभकामना ।