पर्यटक त बढे, तर पूर्वाधार बढेन

maitrinews

काठमाडौँ । पर्यटकको ‌संख्या बढ्न थाले पनि अहिलेकै पूर्वाधारले अबको डेढ वर्षपछि घोषणा हुने नेपाल भ्रमण वर्षका लागि तोकिएको लक्ष्य पूरा हुन नसक्ने पर्यटन व्यवसायीले बताएका छन्।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारीका साथ त्यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

यो लक्ष्य हासिल गर्न पूर्वाधारका साथै सरकारी नीतिहरू समेत बाधक रहेको व्यवसायीहरू बताउँछन्।
नेपाल घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको सरकारी तथ्याङ्कले देखाएको छ।
गत पुसको मध्यदेखि यो असारको मध्यसम्ममै करिब सवा पाँच लाख पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ।
गत वर्ष पनि नेपाल घुम्न आउने विदेशीको विवरण राख्न थालिएयताकै सबैभन्दा धेरै पर्यटक आएका थिए।