बस्ती डुबानमा परेसँगै सुस्ताबासीले भत्काए गण्डक नहरको बाँध

maitrinews


नवलपरासी । गण्डक नहरका कारण नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुरको बस्ती तथा गाउँ डुवानमा परेसँगै पछि स्थानीय बासिन्दाले नहरको बाँध भत्काइ दिएका छन् । स्थानियले गएराति नहरको बाँध काटेर पानीको निकास खोलेका हुन् ।

बर्षाको पानी भरिएपछि गाउँ डुबानमा पर्ने डरले स्थानियहरुले नहरको बाँध भत्काएको बताएका छन् । पानीले धान खेती डुबानमा परेर नष्ट हुने र थप बर्षा हुँदा बाढी गाउँमा पस्ने भएकाले बाँध भत्काउन बाध्य भएको स्थानीयले बताए ।

गण्डक नहर भारतीय पक्षको नियन्त्रणमा रहेकाले नहर तथा साईफन एवं कुलोहरुको सरसफाई भारतीय पक्षले नै गर्नुपर्ने भए पनि भारतीय पक्षले नहरको रानीनगर साईफन र कुलोहरु सफा नगर्दा गाउँ तथा खेतीयोग्य जमिन डुबानमा पर्दै आएको थियो ।
गत वर्षपनि भारी बर्षाका कारण सुस्ताको यो गाउँ डुबानमा परेको थियो । गतबर्षको डुवानले स्थानियवासीको बालीनाली समेत नष्ट भइ ठुलो क्षति भएकोे थियो । स्थानीयले त्यतिबेला पनि पानीको निकासका लागि नहरको बाँध भत्काउने प्रयास गर्दा स्थानीय प्रशासनले रोक लगाएको थियो । त्यतिखेरै भारतीय र स्थानीय पक्ष नहर तथा साईफन कुलो सरसफाइ गराई पानीको निकास गराउने सम्झौता गराएको थियो । संझौता गराइए पनि हालसम्म संझौता कार्यन्वयन भएको छैन ।

स्थानीले बाँध भत्काएपछि डुवानमा परेको खेतको पानी घटिसकेको बताइन्छ । बाँध भत्काएपछि स्थानीयलाई चौतर्फि दबाब आएको बताइएको छ ।