उत्कृष्ट बाणिज्य वन्दै छ कृषि विकास बैंक— लिलाप्रकाश सिटौला, सीईआ , कृषि विकास बैङ्क


कृषि क्षेत्रमा काम गर्ने भन्दै २०२४ सालमा स्थापना भएको बैङ्क यतिबेला विकास बैङ्कबाट परिवर्तन भई कमर्सियल बैङ्क बनिसकेको छ । राष्ट्र बैङ्कमा फस्ट क्लास अफिसर भएर काम गरिसकेका लिलाप्रकाश सिटौलाले सीईओको जिम्मेवारी सम्हालेपछि कृषि विकास बैङ्कले आफ्नो परम्परागत छविलाई परिवर्तन गर्दै ‘हाइटेक’ छवि बनाएको छ । यसै सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलासँग गरिएको कुराकानीको संक्षेप : 
कृषि विकास बैङ्क देशकै उत्कृष्ट वाणिज्य बैङ्क बन्न सक्दैन ?
कृषि विकास बैङ्क नेपालको उत्कृष्ट वाणिज्य बैङ्क बन्ने लगभग अन्तिम चरणमा छ । मैले केही एक्सन प्लानहरू बनाएको थिए र ती प्लानलाई निष्कर्षमा पुर्याउँछु भनेको थिएँ र हामी निष्कर्षमा पुग्ने चरणमा छौँ । खासमा कृषि विकास बैङ्कलाई आधुनिकीकरण गर्ने मेरो सोच थियो । त्यहीअनुसार बैङ्कलाई आधुनिक बैङ्कको रूपमा अगाडि बढाएको हुँ । कमर्सियल बैङ्कहरूले दिने सबैखाले सेवा सुविधा हामीले पनि दिएका छौँ । जस्तैः ई–बैैङ्किङ, मोबाइल बैङ्किङ, डेबिट–क्रेडिट कार्डलगायत आईपीसी, ईसीजीको सुविधा दिएका छौँ । साथै आईपीओ, एफपीओ खरिद बिक्रीका लागि सी–आस्वा सेवा पनि दिएका छौँ ।
सुरक्षाको हिसाबले पनि कमर्सियल बैङ्कले भन्दा सुरक्षित बैङ्किङ सुविधा हामीले उपलब्ध गराएका छौँ । सुरक्षा विशेषता भएका नयाँ नयाँ प्रविधि हामीले भित्र्याइसकेका छौँ । कृषि विकास बैङ्कको पुरानो समस्या भनेको आईटीको थियो । आईटी पोलिसी बनायौँ र आईटीलाई आर १६ कोर बैङ्किङ सिस्टम (सीबीएस) मा विकास गरिसकेका छौँ । कर्मचारी व्यवस्थापनमा पनि हामीले ठूलै फड्को मारेका छौँ । नयाँ पुस्तालाई अवसर दिनुका साथै पुराना कर्मचारीलाई स्तर वृद्धिका लागि नयाँ नयाँ तालिम दिने कार्यलाई तीव्र पारेका छौँ । कर्मचारी व्यवस्थापनमा पारदर्शी भएका छौँ । भर्खरै मात्र आठ सयजना नयाँ कर्मचारीको नियुक्ति गरेका छौँ । करियर डेभलपमेन्ट अनि प्रोमसनका कुरामा हामीले विशेष ध्यान दियौँ । अब हामीकहाँ इन्टरनल कन्ट्रोल सिस्टममा कुनै पनि समस्या छैन । सबैभन्दा ठूलो समस्या हिसाब मिलानको थियो त्यो पनि हामीले यो आर्थिक वर्षबाट पूर्णरूपमा समाधान गर्दैछौँ । राष्ट्र बैङ्कको नीतिअनुसार नीति नियम बनाएर रिस्क म्यानेजमेन्ट, विजनेस कन्टिन्युटी प्लान, लिक्विडिटी, इन्टरनल अडिट पोलिसी, क्रेडिट पोलिसी, गाइडलाइन पूर्ण रूपमा तयार भएर बोर्डले पास गरी लागू पनि भइसकेका छन् । यसले गर्दा आन्तरिक रूपमा हामी बलियो बनेका छौँ ।
तपाईंहरू विशुद्ध कमर्सियल बैङ्कका रूपमा परिवर्तन भइसक्नुभएको छ ?
हो, विकास बैङ्कको अवधारणालाई परवर्तन गरी हामी पूर्ण रूपमा वाणिज्य बैङ्कको लयमा छौँ । बैङ्कका सबै शाखालाई सीबीएस प्रणालीमा ढाली सकेका छौँ । बैङ्कको पूर्ण सिस्टमलाई पनि अडिट गरिरहेका छौँ । बैङ्कले व्यापार बिस्तारलाई पनि तीव्र पारेको छ । बैङ्कको आम्दानी धेरै राम्रो बढेको छ । हामीले एलसी (प्रतित पत्र), ग्यारेन्टी (बैङ्क जमानत), विदेशी मुद्रा लेनदेनलगायतको कार्य गरेका छौँ । साधारण सभालाई निरन्तरता दिएका छौँ । अब कृषि विकास बैङ्कलाई हामीले विशुद्ध कमर्सियल बैङ्क बनाइसकेका छौँ ।
कृषि विकासको नाम त परिवर्तन गर्नु भएन नि ?
नाम परिवर्तनको कुरा पनि उठेको हो तर हाम्रो परम्परागत ग्राहकको सङ्ख्या ठूलो छ । हामीले एकैचोटि आफ्नो परम्परालाई पूरै परिवर्तन गर्न सक्दैनौँ । यो गर्नु उचित पनि होइन । यसलाई परिमार्जन गर्ने हो । हाम्रो मास अझै पनि कृषि विकास बैङ्कमा नै अभ्यस्त छ । हाम्रो कार्य र प्रभावले कृषि विकास बैङ्क भनेर चिनायो यसलाई परिवर्तन गर्नभन्दा सेवामा गुणस्तर वृद्धि गरी बजारमा प्रतिस्पर्धामा जान उचित ठानेर हामी अगाडि बढ्यौँ । हाम्रो फोकस पनि कृषिमा नै हो । हामी आधुनिक प्रणालीलाई प्रयोगमा ल्याउने र आफ्नो अस्तित्वलाई बचाउने पक्षमा छौँ । सरकारी स्वामित्वको बैङ्क भएकाले पनि तुरुन्तै लोगो, नाम परिवर्तन गर्ने सहजता पनि छैन । केही परिवर्तन गर्न पर्यो भने पनि जनताबाट अनुमोदन गर्नुपर्ने हुन्छ । कृषि विकास बैङ्क भनेर नै चिनिएकाले पनि नाम परिवर्तनलाई हामीले प्राथमिकतामा राखेका छैनौँ । नाम भन्दा पनि कामलाई हामीले महत्व दिएका छौँ ।
कर्मचारीको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
कर्मचारीमा क्षमता नभएको भन्ने होइन, समय सापेक्ष स्किल छैन भने हामीले स्किल डेभलपमेन्टका लागि विभिन्न तालिम दिने कार्य गछौँ । हामीले निरन्तर जस्तो कर्मचारी भर्ना, कर्मचारीको स्तरोन्नति गर्ने कार्य गरि नै राखेका छौँ । दुर्गम जिल्लादेखि सुगमसम्ममा कर्मचारीलाई स्थानान्तरण गर्ने कार्य गरिरहन्छौँ । कर्मचारीको व्यवहारको कुरामा यदि त्यस्तो भएमा उनीहरूलाई व्यक्तिगत व्यवहारमा सुधारका लागि विभिन्न वर्कसपमा सहभागी गराउने अथवा कार्वाही गर्नेसम्म पनि हुनेछ ।

कृषि क्षेत्रको विकासलाई मध्यनजर गरेर खोलिएको बैङ्क व्यावसायिक हुनुको पछाडिका कारण के होला ?
कृषि विकास बैङ्कको प्रतिस्पर्धाको क्षेत्र कृषि नै हो । हाम्रो उद्देश्य अहिले पनि कृषि क्षेत्रको विकास गर्ने नै हो । फाइदाभन्दा कृषिमै अभ्यस्त भएकाले सन्तुष्ट छौँ । अहिले पनि ३४ प्रतिशतको पोर्टफोलियो कृषिमै छ । अहिलेको बजेटमा पनि ४० प्रतिशत बजेट कृषिमै छुट्याउने योजना बनाएका छौँ । हाम्रो प्रतिस्पर्धाको क्षेत्र भनेको नै कृषि हो । नयाँ आर्थिक वर्षमा पनि कृषिमा केन्द्रित हुनुपर्छ भनेर नयाँ नयाँ कर्यक्रमहरू ल्याउँदैछौँ । हामी व्यावसायिक हुनुको अर्थ कृषि क्षेत्रलाई छोड्नु होइन कि यसलाई आधुनिकीकरण र व्यावसायीकरण गर्दै लैजानु हो । अझ कृषि क्षेत्रको विकासका लागि क्षेत्रगतरूपमा (सातै प्रदेशमा) लगानी वृद्धि गर्ने सोचमा छौँ ।
कृषिमा कति लगानी गर्नु भएको छ ?
कृषिमा मात्र ३४ अर्ब लगानी गरेका छौँ । अन्य वाणिज्य बैङ्कले ५ देखि १० प्रतिशत मात्र लगानी गर्ने भनिरहँदा हामीले ३४ प्रतिशत लगानी कृषिमा मात्रै गरेका छौँ । यसलाई अझै बढाउँदै छौँ । कृषि विकास बैङ्कले कृषि क्षेत्रलाई नै बढी प्राथमिकता दिन्छ । तर कृषिमा प्राथमिकता दिने भनेको कृषिमा मात्रै केन्द्रित रहने भनेको होइन । अन्य वाणिज्य बैङ्कले दिने सबै सुविधा कृषि विकास बैङ्कले पनि दिन्छ । यसले कृषिमा ऋण लगानी गर्ने मात्रै होइन, निक्षेप सङ्कलन गर्ने, व्यापार व्यावसाय तथा उद्योगहरूमा लगानी गर्ने सबै काम यो बैङ्कले गर्छ ।
कृषि विकास बैङ्कले शाखा विस्तारलाई कसरी लिएको छ ? नेपालका बैङ्कहरूमध्ये सबैभन्दा बढी शाखा हाम्रा छन् । २५५ वटा शाखा कार्यालय सञ्चालनमा छन् भने अरू पनि खुल्ने क्रममा छन् । यो आर्थिक वर्षमा हाम्रा २७५ वटा शाखा पुग्नेछन् । हरेक स्थानीय निकायमा शाखा कार्यालय पुर्याउन लागि परेका छौँ ।
सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैङ्क पुग्नुपर्ने र हरेक नेपालीको बैङ्क खाता अनिवार्य भनेको छ । यो अभियानमा कृषि विकास बैङ्क कत्तिको सफल छ ?
कृषि क्षेत्रमा सबैभन्दा बढी आबद्धता भएको बैङ्कको नाताले र देशभर शाखा सञ्जाल फैलिएको नाताले बैङ्कसँग कतै न कतै सबै जनता कनेक्ट हुन् भन्ने हाम्रो निरन्तरको प्रयास हो । चाहे त्यो सेयर होल्डर, चाहे त्यो ऋणी वा रकम जम्माकर्ताको रूपमा होस् । कुनै न कुनै रूपमा हामीसँग जोडिउन् भन्ने अभियान हाम्रो हो । यो अभियानलाई सार्थकता प्रदान गर्न सेवा विस्तार गर्ने, वित्तीय साक्षरता विस्तार गर्ने कार्य गरेका छौँ । जति धेरैको खाता खोल्न सफल भयौँ त्यति नै वित्तीय प्रगाढता बढ्छ, आर्थिक मध्यस्थता वृद्धि हुन्छ र आर्थिक कारोबार बढ्छ । जनता कहीँ न कहीँ बैङ्कसँग जोडिन्छन्, यसले वित्तीय पारदर्शिता बढाउँछ ।