उपकुलपति कोइरालाज्यु कांग्रेस नेता बन्न खोज्दा समस्या भयो —रमेशप्रसाद भट्टराई, संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष


नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइराला क्यानडामा हुने संस्कृत सम्मेलनमा जाने क्रममा उहाँलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काएको विषयलाई लिएर अहिले विभिन्न खाले चर्चा भैरहेका छन् । कोइराला आफैँले त प्रधानमन्त्रीले छापामार शैलीमा पक्राउ गरेको भन्दै अधिनायकवाद शैली भन्दै आलोचना गर्नुभएको छ । तर, सोही विश्वविद्यालयको शिक्षाध्यक्ष रमेशप्रसाद भट्टराई भने त्यस्तो अभिव्यक्तिको खुलेर आलोचना गर्नुहुन्छ । भट्टराईसँग यही विषयमा केन्द्रित भएर मोहन बास्तोलाले गरेको कुराककानीः

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको क्यानडा भ्रमणको विषयललाई लिएर अहिले विभिन्न खाले चर्चा भएका छन् । यो चर्चालाई तपाईँले कसरी लिनुभएको छ ?
नेपाल संस्कृत विश्वविद्यालयको आर्थिक प्रशासनसम्वन्धि नियमको परिच्छेद २१मा उपकुलपतिले विदेश भ्रमणमा जाँदा कुलपतिको पूर्वस्वीकृती लिनुपर्ने व्यवस्था छ । क्यानडा जाने सन्दर्भमा उहाँले त्यो नियमको गम्भीर उल्लङ्घन गर्नुभएको छ । त्यति मात्र होइन उहाँको भ्रमणका सन्दर्भमा जहाँबाट टिप्पणी उठ्नु पर्ने थियो, छलफल हुनुपर्ने थियो त्यो उहाँले गर्नुभएन । त्यति मात्र होइन उहाँले रेक्टर रजिष्ट्रारसँग पनि त्यो सन्दर्भमा छलफल गर्नुभएन ।
मलाई शिक्षा मन्त्रालयले उपकुलपतिज्युको विदेश भ्रमणका बारेमा कुलपति (प्रधानमन्त्रीज्यु)सँग छलफल गर्नु भनेको थियो । मैले उहाँलाई त्यो जानकारी पनि गराएको थिएँ । मैले उहाँलाई ऐन–नियम अनुसार हजुरले एक पटक कुलपतिज्युसँग अनुमति लिनुहोस् वा उपकुलपतिज्युलाई जानकारी गराउनुहोस् पनि भनेको थिएँ । तर, उहाँले त्यो सबै गर्न जरुरी छैन भनेर वेवास्था गर्नुभयो । मैले उहाँलाई त्यसपछि पनि कम्तीमा विश्वविद्यालयको इज्जत र प्रतिष्ठाका लागि भए पनि एक पटक उहाँसँग सम्पर्कमा रहिदिनुहोला भने । उहाँले कुलपतिज्युप्रति पूर्वाग्रह नै साँध्ने हिसावले निकै हल्का ढंगले ‘मैले शिक्षा मन्त्रालयमा जानकारी गराएको छु । प्रधानमन्त्रीको कार्यालय वा संस्कृत विश्वविद्यालयका कुलपतिज्युलाई अहिले सम्पर्क गर्न जरुरी छैन । यसअघि पनि मेरो प्रस्तावलाई उहाँले त्यति सुनुवाई गर्नुभएन’ भन्दै मसँग उहाँले टार्ने खालको अभिव्यत्ति दिनुभयो । मैले पनि त्यसपछि मेरो उपकुलपतिलाई त्यति धेरै कर गर्न आवश्यक ठानिन् ।
भनेपछि उहाँले विश्वविद्यालयको ऐन–नियमको पालना गर्नुभएन भन्ने तपाईँहरुको आरोप होइन ?
हो, उहाँले विश्वविद्यालयको ऐन–नियमको पालना नगर्नुभएको प्रष्ट हुन्छ । उहाँले विश्वविद्यालयको ऐन–नियमको पालना नगर्दा नै यस्तो दुर्घटना घटेको हो । सम्वन्धित ठाउँमा जानकारी नगराई विश्वविद्यालयको ऐन–नियमको समेत पालन नगरी विदेश भ्रमणमा जाने हतारोमा उहाँ लागेपछि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट मर्यादित व्यक्तिले मर्यादित ढंगबाटै विदेश भ्रमण गर्नुपर्छ भनेर नै उहाँलाई त्यतिबेला सम्झाउने काम भएको हो । उहाँले भने जस्तो अपहरण गरेको वा उहाँलाई छापामार शैलीमा पक्राउ गरेको केही पनि होइन ।
नेपाल संस्कृत विश्वविद्यालयको आर्थिक प्रशासनसम्वन्धि नियमको समेत व्यवास्था गरेकाले त्यस्तो घटना घट्यो भनेर तपाईँले भन्नुभयो । तर, उहाँले त पत्रकार सम्मेलन नै गरेर कुलपतिको विरोध गरिरहनु भएको छ नि ?
उहाँले कुलपतिज्युलाई आरोप लगाउनु भनेको उहाँ आफैँ अवाञ्छिट गतिविधिमा संलग्न हुनुहुन्छ भन्ने कुराको प्रमाण हो । कम्तीमा उहाँले कुलपतिज्युलाई एक पटक भेटेर आफ्नो इच्छा प्रकट गरेको भए यस्तो घटना नै हुने थिएन । तर, उहाँले आफूले गरेका गलत कामका बारेमा प्रधानमन्त्री कार्यालय अर्थात कुलपतिज्युले जानकारी लिनुहोला भन्ने डरले उहाँ त्यहाँसम्म जाने आँटमा रहनु भएन । संस्कृत सम्मेलन हुँदैछ म त्यो सम्मेलनमा जाने तयारीमा छु भनेर उहाँले भनेको भए त्यसलाई कुलपतिज्युले अस्वीकार गर्ने प्रश्न नै आउने थिएन ।
भनेपछि उपकुलपतिज्यु प्रधानमन्त्रीज्युबाटै भाग्न खोज्दा यस्तो भयो होइन त ?
हो, उपकुलपतिज्युको तीन वर्षे कार्यकाल भदौमा पूरा हुँदैछ । उहाँले आफ्नो पदावदी सकिने बेलामा विश्वविद्यालयको ऐन–नियम विपरीत धेरै काम गर्नुभएको छ । त्यो कुरा प्रधानमन्त्रीज्युले पनि जानकारीमा राख्नुभएको छ । त्यहाँ जाँदा प्रधानमन्त्रीज्युले सोध्ने भएकाले पनि उपकुलपतिज्यु त्यहाँ जान हिचकिच्याउनुभयो । कुलपतिज्युले ‘प्राचार्यको नियुक्ति किन गनुभयो ?, गैरकानुनि रुपमा अरु–अरु नियुक्तिहरु किन गर्नुभयो ?’ भनेर सोध्नुभयो भने बर्बात हुन्छ भन्ने डर अन्तरआत्माबाटै पैदा भएपछि उपकुलपतिज्युले त्यस्तो अप्रिय निर्णय लिनुभयो र सबैलाई विवादमा तान्नुभयो भन्ने मेरो ठहर छ । अहिले कुलपतिज्युलाई विभिन्न लाञ्छना लगाएर गरिएका हल्लाले उहाँको पदीय मर्यादा नै धरापमा परेको छ ।
उहाँको विदेश भ्रमणको सन्दर्भलाई लिएर शिक्षामन्त्रालयले विज्ञप्ति नै निकालेर खण्डन गरेको छ । यसलाई चाहिँ के भन्नुहुन्छ ?
मैले अघि नै भने उहाँले ऐन–नियम विपरीत जे काम गर्नुभएको छ । त्यो विश्वविद्यालयको गरिमालाई नै आँच पुग्ने छ । यो कुराको जति खण्डन गरे पनि पुग्दैन । अहिले उहाँले नै मिडियामा गएर विभिन्न खालका आरोप लगाउनु भनेको झन हाँस्यास्पद कुरा हो । रेक्टर, रजिष्ट्रारसँग कुनै छलफल नगर्ने, शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई अलिकति पनि जानकारी नगराउने अनि आफ्नै ढंगले भ्रमण तय गर्ने र आफू मात्र ठिक भएको हल्ला गर्ने उहाँको त्यो शैलीले उहाँलाई नै कमजोर बनाएको छ । अर्थमन्त्रालयले समेत सो भ्रमणका लागि आर्थिक सहयोग गर्न नसक्ने भनेको थियो । यो विषय हामीले पनि जानकारी गराएकै हौँ । हामी उहाँको भ्रमण स्थगन भयो होला भन्नेमै थियौँ । तर, उहाँले आ–आफ्नै ढंगले आफुलाई मन परेका व्यत्तिहरुको सिफारिस गरेर जाने अन्तिम तयारी गर्नुभएको रहेछ । त्यो कुरा पनि हामीलाई अन्तिम समयमा मात्र थाहा भयो । अझ भन्ने हो भने उहाँको अहमवादी प्रवृत्तिका कारण पनि यस्तो समस्या भयो ।
उहाँले उपकुलपति रहँदा विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाएको, नियम–ऐनको पालना नगरेको जस्तो आरोप पनि लाग्ने गरेको छ । त्यो हो ?
एकदम सत्य कुरा हो । उहाँले यस्ता धेरै कमजोरी गर्नुभएको छ । उहाँले विश्वविद्यालयको कुलपति भन्दा पनि नेपाली कांग्रेसको नेताको हैसियतमा काम गर्दा समस्या भएको छ । उहाँले नियुत्ति प्रक्रियामा पनि त्यस्तै खालको रवैया प्रस्तुत गर्नुभएको छ । प्राचार्यको नियुत्तिका सन्दर्भमा पनि उहाँको रवैया सबैलाई घाँम जस्तो छर्लङ्ग छ । कार्यकारी परिषद् लगायतमा पनि उहाँको रवैयाको सबैले आलोचना गर्ने गरेका छन् । उहाँले भर्खर गठन गरेको पुनरावेदन आयोगमा पनि निकै वद्मासी गर्नुभएको छ । उहाँले जे गर्नुभएको छ सबै गैरकानुनी ढंगले गर्नुभएको छ ।
अहिले त नेपाली कांग्रेसले उपकुपतिज्युको विषयलाई लिएर संसद्मै हंगामा गरेको छ । यो गर्नु कत्तिको उचित छ ?
विधिको शासन परिचालन गर्न नै गणतान्त्रिक व्यवस्था ल्याइएको हो । विधिको शासनलाई सबैले मान्नुपर्छ । तर, उहाँले विधिको शासनलाई नै चुनौति दिनुभएको छ । उहाँ नेपाली कांग्रेस निटक प्राध्यापक संघको सभापति पनि हो । उहाँले त्यो पदीय मर्यादालाई समेत ख्याल नगरी कांग्रेसको नेताको हैसियतमा काम गर्नुभएको छ । यो गलत छ । अझ कांग्रेसले त्यहि विषयलाई लिएर गरेको राजनीति झन घीनलाग्दो छ । उपकुलपतिज्युको शैली नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिको जस्तो होइन संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सांसद्को जस्तो देखिएको छ । त्यसैले विश्वविद्यालयलाई अति राजनीतिकरणको थलो नबनाउने हो भने उहाँको शैली परिवर्तन गर्न आवश्यक छ । यस्ता अमर्यादित शैलीको उहाँले अन्त्य गर्नुको अर्को विकल्प छैन ।