गोविन्द केसीको अनशनलाई राजनीतिकरण नगर्न चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल अहिले हाम्रा सामु हुनुहुन्न । २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना हुँदा पुष्पलालले बुनेका सपनाहरु अहिले विस्तारै पूरा हुँदै गएका छन् । कम्युनिस्ट पार्टी स्थापनाको करिब सात दशक पूरा हुँदै गर्दा दर्जनौ पटक नेपालका कम्युनिस्ट पार्टीहरु टुटफुट र विभाजनको सिकार भए । पुष्पलाल स्वयम पनि पटक पटक कम्युनिस्ट पार्टी टुटफुट र विभाजनको चपेटामा पर्नुप¥यो । पटक पटक भएका षडयन्त्रले कम्युनिस्ट पार्टीको स्थापनापछि उहाँले पार्टीको नेतृत्व गर्ने कुराहरु मृर्गमरिचीको कथाजस्तै बने । तर, अहिले नेपालमा दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थापना भएको छ । त्यतिमात्र होइन, त्यही कम्युनिस्ट पार्टी दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीका रुपमा परिचित छ ।
आज पुष्पलालको ४० औ स्मृतिदिवस उहाँको सम्झनामा मुलुकभरीकै कम्युनिस्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरे । राजधानीको राष्ट्रिय सभागृहमा पनि पुष्पलालकै स्मृतिमा एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । एकतातिर हसिया हतौडा अंकित झण्डा र अर्कोतिर सूर्यचिन्ह अंकित झण्डाको बीचमा पुष्पलालको तस्बिरलाई साँची राखेर मञ्चमा बसेका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले पुष्पलालको योगदानको खुलेर प्रसंशा गरे भने, हलमा खचाखच रहेका कार्यकर्ताले शीर्ष नेताहरुका मन्तव्यसँगै पुष्पलाललाई सम्झना गर्दै गड्गडाहट तालि बजाए । कार्यक्रममा पुष्पलालको योगदानको मात्र चर्चा भएन । पछिल्लो समयमा दुई तिहाई नजिकको शक्तिशाली कम्युनिस्ट नेतृत्वको सरकारलाई घेराबन्दीमा पार्न डाक्टर गोविन्द केसीको अनसनको आगोमा विचारको रोटी पकाउने प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि शीर्ष नेताहरुले खुलेरै आलोचना गरे ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर केसीको अनसन मानव अधिकार विरोधी काम भएको आरोप लगाउनुभयो । मानवअधिकारको परिभाषाभित्र अनसन नपर्ने पनि उहाँले दाबी गर्नुभयो ।
उहाँले सरकारको राजश्वबाट जागिर खाने डाक्टरहरु बिरामीको उपचार गर्न छाडेर सडकमा आन्दोलनमा आउने कुरालाई सरकारले सहन नसक्ने चेतावनी पनि दिनुभयो ।
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई जिम्मेवार प्रतिपक्षीका रुपमा स्थापित हुन पनि आग्रह गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सामान्य अल्झनमा वर्तमान सरकार नअल्झने भन्दै आन्दोलनको वैर्तनी नतर्न पनि कांग्रेसलाई सुझाव दिनुभयो ।
त्यसैगरी प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी भित्र फुट ल्याउन अनेकन षडयन्त्र भएको भन्दै त्यसलाई तोडेर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेसको अलोकतान्त्रिक शैलीको आलोचना गर्नुभयो ।
डाक्टर गोविन्द केसीको अनसनलाई राजनीतिकरण गर्न खोजेको भन्दै अध्यक्ष प्रचण्डले यस अघि पनि केसीले अनसन बसेको स्मरण गराउनुभयो ।
प्रतिपक्षी दलसहित केसीका शुभेच्छुकहरुले अनसनका नाममा राजनीति गरेको भन्दै अध्यक्ष प्रचण्डले सरकार सबैभन्दा बढी केसीको जीवन रक्षामा लागेको पनि बताउनुभयो ।
लोकतान्त्रिक हुँ भन्ने शक्तिहरुले नै केसीको लासमाथि राजनीति गर्न खोजेको अध्यक्ष प्रचण्डको आरोप छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस विरुद्ध निक्कै खरो रुपमा प्रस्तुत हुनुभएका प्रचण्डले कांग्रेस अवसानको बाटो तिर अग्रसर भएको पनि आरोप लगाउनुभयो ।
कांग्रेस नसुध्रिए उसका विरुद्ध १० गुणा बढी शक्ति लगाएर सडकमा आउने समेत प्रचण्डले चेतावनी दिनुभयो । उहाँले पुष्पलालको योगदानको पनि खुलेरै चर्चा गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा चम्पादेवीस्थित उहाँको शालिक परिसरमा पुष्पलाल स्मृति प्रतिस्ठानले एक कार्यक्रमको आयोजना गरेको थियो ।
सो कार्यक्रममा पनि अध्यक्ष प्रचण्ड, प्रतिस्ठानका अध्यक्ष एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाललगायतले उहाँको योगदानको चर्चा गर्नुभएको थियो ।