भक्तपुर फेरि डुबानमा

maitrinews

भक्तपुर । अघिल्लो डुबानको पीडाबाट उठ्न नपाउँदै राधेराधे सल्लाघारीलगायत क्षेत्रका बासिन्दा पुनः डुबानमा परेका छन् । आइतबार बिहान घरभित्र पसेको भेल पन्छाउँदै गरेका नेत्र खत्रीले भने, ‘न सुत्ने ओछ्यान ओभानो छ, न खाने कुरा नै केही बाँकी छ ।’ सिर्जनानगर क्षेत्रका बासिन्दाले हनुमन्ते खोलामा आएको बाढीमात्र नभई सूर्यविनायक नगरपालिकाको कटुञ्जेदेखि आउने ढलको सास्ती पनि व्यहोर्दै आएका छन् ।

‘सूर्यविनायक–तीनकुने ६ लेन सडकखण्डअन्तर्गत राधेराधेस्थित पुल निर्माण गर्दा बस्तीको ढल निकास थुनियो,’ स्थानीय दुर्गा भण्डारीले भनिन् । अविरल वर्षाका कारण हनुमन्ते, खस्याङखुसुङ, ढुंगे खोलालगायतमा आएको बाढीले मध्यपुर थिमि र भक्तपुर नगरपालिका भित्र पर्ने राधेराधे, सल्लाघारी, राममन्दिर, बाराहीस्थान क्षेत्रको सिंगो बस्ती डुबानमा पर्दै आएको छ ।

डुबानका कारण राधेराधे क्षेत्रका बालबालिका विद्यालय जान पाएनन् । बाढीका कारण यातायात व्यवस्था विभागको कार्यालयले राधेराधे क्षेत्रमा सञ्चालन गर्दै आएको सवारी अनुमतिपत्रको प्रयोगात्मक परीक्षा ९ट्रायल० बन्द भएको छ । त्यस्तै, हनुमानघाटस्थित परोपकार केन्द्र र आसपासका घर, सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, डा। इवामुरा अस्पताल, अक्सफोर्ड स्कुललगायत क्षेत्र डुबानमा परेका छन् ।

अव्यवस्थित सहरीकरण तथा खोला अतिक्रमणका कारण हनुमन्ते खोलाले बस्ती डुबानमा पार्ने गरेको जानकारहरू बताउँछन् । ‘पछिल्लो समय मिचाहा प्रवृत्ति बढ्दै गएको छ,’ मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने । भक्तपुर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुर प्रहरी प्रमुख एसपी हिमालयकुमार श्रेष्ठलगायतले डुबान क्षेत्रको अवलोकन गर्दै हनुमन्ते करिडोर नै अन्तिम विकल्प हुनसक्ने बताएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोलीले आइतबार राधेराधेस्थित ६ लेन सडकको पुल भासिने जोखिम नियन्त्रणका लागि तारजाली हालेको नगरप्रमुख श्रेष्ठले बताए ।

त्यसैगरी, अबिरल वर्षातका कारण सूर्यविनायक नगरपालिका–८ सिपाडोल घ्याम्पेडाँडा तथा रानीकोट जाने सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सूर्यविनायक हुँदै घ्याँम्पेडाँडा जाने सडकको विभिन्न स्थानमा पहिरो गएपछि मुख्य सडक नै अवरुद्ध हुँदा आवागमनमा समस्या परेको स्थानीयबासिन्दाले बताएका छन् ।