हेटौडा कपडा उद्योग पुनः चलाउन सकिने

maitrinews

काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने ठहर गरेको छ । यसबारे अध्ययनका लागि बनेको समितिले कपडा उद्योग सञ्चालन गर्न सकिने निश्कर्षसहितको प्रतिवेदन दिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको ७ सदस्यीय संयुक्त समितिले हेटौंडा कपडा उद्योगको स्थलगत रुपमै अध्ययन गरेर प्रतिवेदन तायर गरेको हो । नेपाली सेनालाई संलग्न गराएर उद्योग चलाउने योजना अनुरुप अध्ययन कार्यदल गठन भएको थियो । समितिमा सेनाका अधिकृत पनि सदस्य थिए ।
कार्यदलका एक सदस्यका अनुसार करिब ३० करोड खर्च गर्दा उद्योग फेरि सञ्चालनमा ल्याउन सकिने निश्कर्षसहितको प्रतिवेदन मन्त्रालयमा बुझाइएको छ ।

प्रतिवेदनले उद्योग चलाउन विभिन्न मोडालिटी पनि प्रस्ताव गरेको छ । जसमा सेनाको एकल लगानीदेखि सरकारकोर सेनाको संयुक्त लगानीसम्मका मोडालिटी छन् । उद्योग चलाउने निर्णय गर्न अर्थमन्त्रालयले स्वीकृति दिनुपर्नेछ । त्यसपछि मन्त्रिपरिषदबाट निर्णय भएमा उद्योग सञ्चालनको तयारी सुरु हुनेछ ।

कार्यदलले उद्योगको मेसिन र पूर्वाधार अवस्था लगायतका विषयमा अध्ययन गरेको थियो । ‘उद्योगका मेही मेसिन अहिले पनि मर्मत गरेर चलाउन सकिने अवस्थामा भेटिए । धेरै मेसिन नयाँ ल्याउनुपर्छ,’ कार्यदलका एक सदस्यले भने ।

उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले यसअघि नै अध्ययन प्रतिवेदनका आधारमा कपडा उद्योग सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएका थिए । हालका अर्थमन्त्री पनि बन्द रहेका सरकारी उद्योग सम्भव भएसम्म सञ्चालन गर्नुपर्ने पक्षमा छन् ।

सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ । २०३५र३६ देखि व्यावसायिक रुपमा उत्पादन शुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । बन्द हेटौडा कपडा उद्योग १८८ रोपनीमा फैलिएको छ ।

नेपाली सेनाले दुई वर्ष अघि नै बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको थियो । ०६९ माघ १२ को मन्त्रिपरिषद बैठकले हेटौडा कारखानाको सम्पत्ति शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो ।

बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा पनि उद्योग चलाउन तयारी गरिएको थियो । तर, राजनीतिक अस्थिरताका कारण त्यो योजना तुहाइयो । पछि नवीन्द्रराज जोशी उद्योगमन्त्री हुँदा पनि यस्तै अध्ययन गर्न समिति बनाइएको थियो ।

कपडा उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको थियो । नेपालमै ठूलो कपडा उत्पादक रहेको यो उद्योग लामो समयसम्म नाफामा सञ्चालन भएको थियो ।

तर, राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण बन्द भएको थियो । प्रत्यक्ष १५ सयभन्दा बढीलाई जागिर खुवाउने यो उद्योगमा पनि चरम राजनीतिकरण भएको थियो ।

कर्मचारीहरुको सेवासुविधा वृद्धिको माग पुरा गर्नु साटो बन्द गर्न उपयुक्त ठान्यो, सरकारले । जबकी, आन्दोलनका शृंखला शुरु हुनु अघिसम्म उद्योग नाफामा थियो ।

उक्त उद्योगका धेरै मेसिनहरु अहिले पनि चलाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएका छन् । उद्योग सञ्चालनमा आउनासाथ पहिलो चरणमा सरकारी पोशाक, सेना, प्रहरी र विद्यालयको पोशाक उत्पादन गर्ने योजना सरकारको छ ।

सेना आफैं पनि यसमा संलग्न हुन इच्छा देखाएकाले उद्योग चलाउन समस्या नहुने अपेक्षा सरकारको छ । यो उद्योग सञ्चालनमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो दिएका छन् । उनले केही समयअघि प्रदेशसभा ३ को बैठकलाई संबोधन गर्दै उनले नयाँ मेसिन ल्याएर कपडा उद्योग चलाउने बताएका थिए ।

‘हेटौंडा कपडा उद्योग चलाइन्छ, त्यसका लागि नयाँ मेसिन ल्याइन्छ’ उनले भनेका थिए ‘यसमा प्राइभेट सेक्टर (निजी क्षेत्र० पनि ल्याइन्छ ।’

उनले कपडा उद्योग सरकारले मात्र चलाउँदा त्यसले प्रतिफल नदिने बताएका थिए । ‘सरकारी मात्र भयो भने घाँस हाल्ने कोही हुँदैन दूध खाने मात्र हुन्छ’ उनले भनेका थिए ।