पाकिस्तानमा इमरान खानको उदय—आर शर्मा

Maitrinews

पाकिस्तानको राजनीति फेरिएको छ । परम्परागत दुई प्रमुख पार्टी पाकिस्तान मुस्लिम लिग नवाज र पाकिस्तान पिपुल्स पार्टीलाई पाँच —पाँच वर्ष सत्ता चलाउन बहुमत दिए पनि जनअपेक्षा अनुसार काम गर्न नसकेपछि पाकिस्तानी मतदाताले नयाँ शक्तिलाई सत्तामा पुर्याएका छन् । नयाँ शक्तिको उदयसँग प्रतिद्वन्द्वी भारत—पाकिस्तान सम्बन्ध कस्तो हुने हो ? चर्चाको विषय बनेको छ ।
आणविक शक्ति सम्पन्न पाकिस्तानको राजनीतिमा इमरान खानको उदय भएको छ । जुलाई २५ मा सम्पन्न आमनिर्वाचनमा तहरिक ए इन्साफ(पीटीआई) सबैभन्दा ठूलो पार्टी बनेसँगै खानको उदय भएको हो । खानको नेतृत्वमा पार्टी स्थापनाको दुई दशकमा सत्तामा पुगेको पीटीआई आलोपालो सत्ता चलाइरहको प्रमुख दल पाकिस्तान मुस्लिम लिग नवाज र पाकिस्तान पिपुल्स पार्टीलाई पछि पारी सत्तासिन हुन लागेको हो ।
भ्रष्टाचार र कुशसानबाटपीडित पाकिस्तानलाई सुशसान दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, पाँच वर्षमा एक करोड नयाँ रोजगारीका अवसर सिर्जना गर्ने र ५० लाख हाउजिङ युनिट निर्माण गर्ने चुनावी प्रतिबद्धता व्यक्त गरेको पीटीआईलाई जनताले यस पटक विश्वास गरेर मत दिए । एउटा कुशल क्रिकेटरबाट राजनीतिमा आउनु भएका खानले अब मुलुकलाई कसरी हाँक्नु हुने हो ? हेर्न बाँकी छ ।
६५ वर्षअघि पाकिस्तानको लाहोरमा धनाढ्य पास्तुन परिवारमा जन्मनु भएका खानले लाहोरको एटचिसन कलेजमा अध्ययन गर्नुभयो । उहाँले सन् १९७५ मा अक्स्फोर्ड युनिभर्सिटीबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा स्नातक गर्नुभयो । कुशल क्रिकेटर उहाँको नेतृत्वमा सन् १९९२ मा विश्वकप क्रिकेट जित्न सफल भएपछि उहाँ बढी चर्चामा आउनुभयो ।
क्रिकेटबाट सन्यास लिएपछि सन् १९९६ मा तहरिक ए इन्साफ(पीटीआई) पार्टी गठन गरी राजनीतिमा होमिनुभएका उहाँलाई पहिलो चुनावमा सफलता भने मिलेन । तैपनिउहाँले हरेस नखाई राजनीतिलाई निरन्तरता दिनुभयो । उहाँले भ्रष्टाचार र कुशासनविरुद्धको मुद्दा उठाइरहनु भयो । देश र जनताको हितको चर्को आवज उठाउँदा जेल र नजरबन्दमा पर्नुभएका उहाँलाई अन्तत ः जनताले मत दिएर विजयी बनाए ।
वास्तवमा भ्रष्टाचार प्रकरणले पाकिस्तानको राजनीति थला परेको छ । पनामा पेपर्स प्रकरणलाई लिएर त्यहाँको सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि तत्कालीन प्रधानमन्त्री नवाज सरिफले राजीनामा दिनुभयो । सोही प्रकरणमा उहाँ जेल पर्नु भएको छ । पाकिस्तान स्वतन्त्र मुलुक बनेयताको सात दशकको इतिहासमा दुई पटकमात्र सरकार र संसद्ले पूर्ण कार्यकाल सम्पन्न गर्यो अरु समय अस्थिरता,अल्प कार्यकाल, सैन्य शासनमै बित्यो । यसै कारण पाकिस्तानको प्रजातन्त्रको जग बलियो बन्न सकेन । राजनीतिक दल, नेता र नेतृत्वले सही ढङ्गले काम गर्न नपाउँदा अस्थिर राजनीति नै पाकिस्तानको विशेषता बन्न पुगेको छ । राजनीतिक अस्थिरता,जातीय तथा धार्मिक विवाद, आतङ्वादी समस्या र छिमेकी भारतसँगको कटुता प्रमुख चुनौती रहेका छन् ।
सन् २०१५ मा पनामा पेपर्स प्रकरणमा सरिफ र उहाँको परिवारको नाम मुछियो । विदेशमा अवैधरुपमा कारोबार गरी कर छलेको र भ्रष्टाचार गरेको भन्ने आरोपमा गठित छानविन समितिले सरकारलाई प्रतिवेदन बुझायो । सोही प्रतिवेदनको आधारमा सरिफविरुद्ध कारबाहीको माग गर्दै तहरिक ए इन्साफ पार्टीका अध्यक्ष खानले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभयो । इजाज हसन, एजाज अफजल, सइद शोख, असिफ सइद खोसा र गुलजार अहमत सम्मिलित पाँच सदस्यीय सर्वोच्चको संयुक्त इजलासले सरिफलाई सार्वजनिक पदमा बस्न अयोग्य भन्दै दोषी ठहर गर्यो । अदालतले सरिफलगायत उहाँकी छोरी मर्यम, ज्वाईं सफदर, अर्थमन्त्री इसाक दर लगायत थुप्रै पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउनुपर्ने निर्देश गरेको छ । अदालतको फैसलालगत्तै प्रधानमन्त्री पदबाट राजीनामा दिएका सरिफको सांसद पदमात्रै होइन राजनीतिक भविष्यसमेत धरापमा परेको छ ।
पञ्जावका सफल उद्योगपति सरिफ सन् १९७० को दशकमा राजनीतिमा लाग्नुभयो । सन् १९८० को दशकदेखि नै उहाँमाथि भ्रष्टाचारको आरोप लाग्यो तर उहाँले ती आरोप अस्वीकार गर्दै आउनुभएको छ । सरिफ तीन—तीन पटकसम्म मुलुकको प्रधानमन्त्री बन्नुभयो तर सफल प्रधानमन्त्री बन्न सक्नुभएन । सन् १९९० मा पहिलोपटक प्रधानमन्त्री बन्नुभएका उहाँले तीन वर्षमै पद त्याग्नु पर्यो । दोस्रो पटक सन् १९९७ मा प्रधानमन्त्री बन्नु भएका सरिफ सन् १९९९ मा सैन्य कु गरी पर्वेज मुसर्रफले सत्ता हातमा लिएपछि मृत्युदण्डको सजायसम्म सुनाइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट व्यापक दबाब परेपछि मृत्युदण्डको मुखबाट जोगिनुभयो र आठ वर्ष निर्वासनमा जानुभयो । साउदी अरबमा निर्वासनमा जानुभएका उहाँ सन् २००८ मा स्वदेश फर्कनुभयो र फेरि राजनीतिमा सक्रिय हुनुभयो । सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग —नवाजले सन् २०१३ को संसदीय आमनिर्वाचनमा बहुमत ल्याएपछि उहाँ तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो । तेस्रो कार्यकालमा उहाँले तालिवान विद्रोहीसित वार्ता गर्नेदेखि लिएर भारतसँगको सम्बन्ध सुधारका लागि प्रयास गर्नुभयो तर सफल हुनुभएन ।
आन्तरिक राजनीति परिपक्व नभएको पाकिस्तानले छिमेकी भारतसँग सम्बन्ध सुधार गर्नै सकेन । सन् १९४७ मा बेलायती उपनिवेशबाट भारतको मुक्तिसँगै चरम जातीय र धार्मिक हिंसाबीच टुक्रिएको यो मुलुकले ७० वर्षको इतिहासमा भारतसँगै तीनवटा युद्ध लडेको छ । दुवै देशबीच शत्रुवत् व्यवहार छ । भारतबाट पाकिस्तान टुक्रिने क्रममा भएको जातीय तथा धार्मिक नरसंहारमा १० लाखभन्दा बढी मानिस मारिए, एक करोड २० लाखभन्दा बढी मानिस शरणार्थी बने । सन् १९७१ मा पाकिस्तानबाट बङ्गालादेश टुक्रियो । यस घटनमा पनि ठूलो नरसंहार भयोे । करिब ३० लाख मानिसको ज्यान गयो । पाकिस्तान टुक्र्याउन भारतले खेल खेल्यो भन्दै पाकिस्तानले आरोप लगाउँदै आएको छ । अविश्वास कतिसम्म छ भने नयाँदिल्ली र इस्लामावादबीचको दुरी सात सय किलोमिटर पनि छैन तर सिधा हवाई उडानसम्म छैन । दुवै मु्ुलुक क्रिकेटप्रेमी छन् तर एकआपसमा भारत र पाकिस्तानमा क्रिकेटसम्म खेल्दैनन् । विश्वकै लामो भूराजनीतिक तनाव झेलिरहेका यी दुवै मुुलुकका लागि कास्मिर विवाद नै सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ । दक्षिण एसियाका ठूला र आणविक शक्ति सम्पन्न यी दुई मुलुकबीचको द्वन्द्वले दक्षिण एसियाको क्षेत्रीय सुरक्षा र शान्ति कमजोर भएको छ ।
पाकिस्तानको राजनीतिक अस्थिरता,भरपर्दो र स्थायी सरकार बन्न नसकेकै कारण भारतसँगको विवादित विषयमा घनिभूत वार्ता र छलफल नै गर्न सकेन । परिणाम त ः समस्या झन् झन् जटिल र कठिन बन्दै छन् । एक अर्काप्रति चर्को अविश्वास छ । आतङ्वादी समस्याबाट दुवै मुलुक पीडित छन् । आरोप एकअर्काप्रति लक्षित हुन्छ । पछिल्लो केही वर्षयता पाकिस्तानमा राजनीतिक नेतृत्वका रुपमा आशा गरिएका बेनजिर भुट्टोको हत्या र नवाज सरिफको निगमनसँगै राजनीतिक निराशा बढाएको छ । जनताले नयाँ विकल्पको रुपमा यस पटक पीटीआईलाई ठूलो पार्टी बनाएर सत्ता चलाउने जिम्मेवारी सुम्पेका छन् । चुनावी परिणाम अनुसार पीटीआईले ११७ स्थान,पाकिस्तान मुस्लिम लिग नवाजले ६३ स्थान र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।
सरकार बनाउन २७२ सदस्यीय संसद्मा १३७ सिट ल्याउन पर्ने भएकाले पीटीआईले साना दललाई समेटेर सरकार बनाउँदै छ । सरकार बनाएपछि यो दलले भारतसित सम्बन्ध सुधार गर्ने बताएको छ । विगतका बहुमतको सरकारले भारतसित सम्बन्ध सुधार गर्न नसकेको अवस्थामा पीपीआईले कसरी सम्बन्ध सुधार गर्ने हो ? भारतले पाकिस्तानको नयाँ सरकारलाई कसरी हेर्ने हो ? चासोको विषय बनेको छ ।
१९ करोड ३० लाख जनसङ्ख्या र सात लाख ९६ हजार ९५ वर्ग किलोमिटर क्षेत्रफल रहेको मुसलमान बाहुल्य मुलुक पाकिस्तानलाई आज भरपर्दो राजनीतिक नेतृत्व चाहिएको छ । राजनीतिक नेतृत्व विकासका लागि सक्षम राजनीतिक दलहरुमा प्रजातान्त्रिक अभ्यास, संस्कार,पारदर्शिता,अनुशासन र भ्रष्टाचारमुक्त हुन जरुरी छ । नयाँ सत्तारुढ पार्टी पीपीआईले देशमा सुशासन दिने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ । खानको शासन कालमा पाकिस्तानको राजनीति सफल हुन सकोस् , राजनीतिक स्थिरता कायम हुन् सकोस् , यही शुभकामना ।