पुनर्निर्माण प्राधिकरणमा ज्ञवाली

maitrinews

काठमाडौँ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसअघि २०७३ मा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले पदच्यूत गरेका ज्ञवालीलाई पुनस् नियुक्ति गरेको हो।

ज्ञवाली निकट स्रोतका अनुसार उनले बुधबार नियुक्ति पत्र पाइसकेका छन्। बिहीबार बिहान ११ बजे उनले प्राधिकरणमा पदबहाली गर्ने कार्यक्रम छ।

दाहाल नेतृत्वको सरकारले २०७३ माघमा दुई पटक स्पष्टिकरण सोधेर चित्त बुझ्दो जवाफ नदिएको भन्दै ज्ञवालीलाई बर्खास्त गरेको थियो। पुनर्वहालीको माग गर्दै ज्ञवाली सर्वोच्च अदालत गएका थिए। उनको मुद्दा अहिले विचाराधीन छ।

उनलाई बर्खास्त गरेर पहिला सिइओ भइसकेका गोविन्दराज पोखेरललाई पुनर्नियुक्ति गरिएको थियो। पोखरेलले गत आमनिर्वाचनमा उम्मेद्वार बन्न राजीनामा दिएका थिए।

त्यसपछि पूर्वसचिव युवराज भुषाल प्राधिकरणका सिइओ बनेका थिए। चुनावी आचारसंहिता लागु भएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै नियुक्ति खारेज गर्ने केपी ओली सरकारको निर्णयसँगै भुषाल पदमुक्त भए।

त्यसपछि प्राधिकरणको सिइओ रिक्त थियो।

२०७२ को भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले २०७२ माघमा पाँच वर्ष अवधि तोकेर प्राधिकरण गठन गरेको हो। सुरूमा अध्यादेशमार्फत सिइओ बनेका पोखेरलसहित अहिलेसम्म पाँच पटक प्राधिकरणको नेतृत्व फेरिएको छ।