एजेण्डाबिहीन कुरालाई काँग्रेसले एजेण्डा बनाइरहेको छ —प्राडा गंगा थापा


प्राध्यापक डाक्टर गंगा थापा प्रतिपक्षीको विरोधको शैलीबाट त्यति धेरै सन्तुष्ट हुनुहुन्न । कांग्रेस जस्तो पार्टीले एजेण्डा विहिन भएर अरुका एजेण्डामा राजनीति गरेकोप्रति पनि उहाँ असन्तुष्ट हुनुहुन्छ । त्रिभूवन विश्वविद्यालयमा ३५ वर्ष प्राध्यापन गर्नुभएका थापासँग मोहन बास्तोलाले गरेको कुराकानीः
नेपालमा दुई–तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकार छ । तपाईँ राजनीति शास्त्रमै करिब ३५ वर्ष प्राध्यापन गर्नुभएको व्यक्ति यो अवस्थालाई कसरी लिनुभएको छ ?
शासनसत्ता चलाउनका लागि बहुमत भए नै काफी हुन्छ । अहिले कम्युनिष्ट नेतृत्वको सरकारसँग दुईतिहाई नजिक छ । त्यो भनेको केही संशोधन गरौँ है भन्नका लागि पनि सहज बनाउने स्थिति हो । यसले सत्ता सञ्चालन गरेका दललाई म आवश्यक पर्यो भने केही संशोन पनि गर्न सक्छु भन्ने विश्वास दिलाउनका लागि पनि हो । यति भएर पनि यो सरकारले जुन गतिमा काम गर्नु पर्ने हो त्यो गर्न नसकेको सत्य हो । तर, यसो भनेर अहिले नै यो सरकार असफल भयो अब केही गर्न सक्दैन भनेर ढसी हाल्नु पर्ने स्थिति पनि होइन । यो पाँच–छ महिनामा सरकारले गर्ने हो भने यो भन्दा धेरै गर्न सक्थ्यो । यो मैले मात्र होइन अरुले पनि भनिरहेकै कुरा हो । यो सरकारबाट जनताले जुन खालको सुशासनको अपेक्षा गरेका थिए । यो अवधीमा पूरा नहुने हो कि भन्ने तर्फ उन्मुख भएको देखिन्छ । म फेरि पनि भन्छु । यद्यपि अहिले नै सकियो अब यो सरकार पूरापूर असफल भयो भन्ने अवस्था पनि छैन । यो पाँच वर्षका लागि बनेको स्थायी सरकार भएकाले पनि यो सरकारसँग अझै धेरै अपेक्षा छन् । अहिलेको सरकारलाई कुनै पनि संवैधानिक अडचन छैन । यो गर्न सकिन वा त्यो कारणले भएन भन्ने पनि छैन । त्यसैले अब द्रुत गतिमा काम गर्नुको अर्को विकल्प सरकारसँग छैन । अहिलेको अवस्थालाई नै हेर्ने हो भने पनि सरकार मातहतका संस्थाहरुले पनि त्यति धेरै उत्साहजनक काम गरेको देखिएको छैन ।
सरकारले त अहिले निरन्तरको प्रमुखप्रतिपक्षी दलको अवरोधले समस्या भयो भन्दै आएको छ नि ?
प्रमुखप्रतिपक्षी दलको त विरोध गर्ने धर्म नै हो । पमुख प्रतिपक्षी दलले अवरोध गर्यो, हामीलाई असहयोग गर्यो त्यस कारण समस्या भयो भन्ने कुरा त यो सरकारले गर्नै नमिल्ने कुरा हो । यद्यपि, अहिले कांग्रेसले जुन ढंगले सरकारको आलोचना गरिरहेको छ । त्यो पनि त्यति धेरै सकारात्मक छैन । उसले राजनीतिक विषयवस्तुसँग सम्वन्धित भएर सरकारको आलोचना गरेको छैन । मेरो विचारमा कांग्रेस आफैँ एजेण्डामा हराएको जस्तो लागेको छ ।
प्रमुखप्रतिपक्षीले सत्तापक्षले संविधानको उल्लघंन गर्यो भने विरोध गर्ने हो । प्रमुख प्रतिपक्षी दलले नीति नै फरक भएको अवस्थामा पनि सत्तापक्षको विरोध गर्न सक्छ । प्रमुख प्रतिपक्षीले हामीले खोजेको नीति नै यो होइन । यसमा फरक पर्यो त्यसैले हाम्रो विरोध छ भन्न सक्छ । प्रजातन्त्रका सम्वन्धमा, वहुदलीय व्यवस्थाका सन्दर्भमा हाम्रो यो नीति हो तर सत्तापक्ष यसरी गयो भनेर प्रतिप्रक्षले विरोध गर्न मिल्छ । तर, अहिले कांग्रृृेसका सन्दर्भमा त्यस्तो मसला मैले केही पनि देखेको छैन । विरोध त गरिरहेको छ । तर, विरोध के–का लागि भन्ने कुरामै ऊ अलमलमा छ । यसरी गन्तव्यमा पुग्न सकिन्न । अहिले सरकारले त्यति धेरै प्रभावकारी ढंगले काम नगरेकाले यही बेलामा हानौँ न त भन्ने हो भने पनि विना एजेण्डामा आन्दोलन गरेर त भएन नि ?
भनेपछि अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एजेण्डाविहिन भएर आन्दोलन गरिहरेको छ भन्ने तपाईँको तर्क ?
कांग्रेस मात्र होइन जुनसुकै राजनीतिक दलले पनि आन्दोलन गर्ने हो भने एजेण्डामा गर्नुपर्छ । त्यो भयो भने मात्रै तार्किक निष्कर्षमा पुग्न सकिन्छ । नभएर त्यो रहरको आन्दोलन मात्र हुन्छ ।
तपाईँले यसो भन्दै गर्दा प्रमुखप्रतिपक्षीको धर्म भनेको त सत्तापक्षलाई रचनात्मक सहयोग गरेर काम गर्ने वातावरण निर्माण गर्ने पनि त होला नि ?
हो, मैले अघि पनि भने । विरोध एजेण्डामा गर्ने हो मलाई रहर लाग्यो भनेर विरोध गर्ने होइन । फेरि सत्तापक्षले पनि यहाँ हामी मात्रै छनौँ है शक्तिशाली प्रतिपक्ष पनि छ भन्ने कुराको हेक्का राखेर पनि काम गर्नुपर्छ । अहिलेको अवस्थामा दुवैतिरको तालेल नमिलेको हो कि भन्ने मलाई लागेको छ ।
तपाईँ राजनीतिक रंग लागेको व्यक्ति भन्दा पनि स्वतन्त्र विश्लेषक हुनुहुन्छ ।

तपाईँले राजनीतिक दलको नेता–कार्यकर्ता भन्दा माथि उठेर भन्दा अहिलेको गोविन्द केसीको आन्दोलन र प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सन्दर्भमा निकै लामो राजनीतिक इतिहास बोकेको कांग्रेसले गरेको समर्थन अझ भनौँ त्यसैलाई एजेण्डा बनाएर बोकेर हिड्ने कुरा कत्तिको सान्दर्भिक होला ?
नेपालको मात्र होइन संसारककै इतिहास हेर्ने हो भने पनि निकै लामो समय सत्ताको नेतृत्व गरेर बसेको दल वा व्यक्तिलाई सत्ता छाडेर बाहिर जाँदा निकै असजिलो हुने गर्छ । सत्ता सम्हालुनजेल उसलाई हाहाहुहु गर्न सजिलो हुन्छ । सबै तह र तप्काबाट उसले सहयोग पाएको हुन्छ । सबै संयन्त्र आफ्नो हातमा रहेका हुन्छन् । यस्तो बेलामा सत्ता छाडेर बाहिर जाँदा स्वाभाकि रुपमा केही अभाव हुने भएकाले सत्तामा गएका अरुलाई एजेण्डै विना पनि आरोप गर्ने चलन हुन्छ । हामीले छिमेकी मुलुक भारतकै कुरा गर्ने हो भने पनि भारतीय कंग्रेसले निकै लामो शासन गर्यो । अहिले सत्ता बाहिर रहेका बेला मोदी सरकारलाई कंग्रेसले एजेण्डा विहिन अवस्थामा पनि आलोचना गरिरहेको छ । यो स्वाभाविक नियम हो । नेपालको सन्दर्भमा पनि अहिले पाँच वर्षका लागि देशको नेतृत्व गर्न सक्ने गरी कम्युनिष्ट सरकार नेपालमा आएका बेला ओहो अब हामीले पाँच वर्ष त सत्ताको नेतृत्व गर्ने स्थिति रहँदैन । यो बेलामा हामीले जसरी पनि आलोचना गर्नुपर्छ भन्ने मनस्थिति पनि एक हो जस्तो लाग्छ । यो जनतालाई कांग्रेस पनि बलियो शक्ति हो है भन्ने देखाइ रहनका लागि पनि कांग्रेसले यसो गरेको हुनसक्छ । जे भए पनि अहिले जसरी एजेण्डा विहिन कुरालाई कांग्रेसले एजेण्डा बनाइरहेको छ । यो उसैका लागि पनि हितकर छैन ।
गोविन्द केसीको आन्दोलनमा कांग्रेसले नै अगुवाई गर्ने कुरा त्यो राम्रो होइन । म त व्यक्तिगत रुपमा भन्नुहुन्छ भने गोविन्द केसी जत्तिको व्यक्तिले सडकमा गएर देखाएको नृत्य नै चित्तबुझ्दो छैन । त्यो दुःखको कुरा हो । यस्तो कुराले म इमान्दारपूर्वक भन्छु । मलाई दुःखी बनाएको छ । अहिले मैले जे भनेको छु त्यहि चाहिन्छ भन्ने कुरा फाँसीज्जम् हो । त्यो अर्को निरंकुशता हो । एक जना व्यक्तिले भनेको सबै कुरा राज्यले पुर्याउँदै जाने हो भने त्यो संभव हुँदैन । सबै समस्याको समाधान गर्ने थालेको भने संसद् नै हो । त्यहाँ सत्तापक्ष–प्रतिपक्ष सबै हुन्छन् । मेरो यो तर्क छ । गोविन्द केसी कोसँग र किन प्रयोग भए । मलाई थाहा छैन । त्यो उहाँलाई नै सोध्नु होला । तर, एक जनाले भनेको कुरा सबै पूरा गर्दै जाने हो भने किन चुनाव गर्ने ? किन प्रतिनिधि छान्ने ? एक व्यक्तिले नै सबै चलाए भै हाल्यो नि ? प्रजातन्त्र भनेको कुनै एक दललाई आवधिक अधिकार दिएको कुरा हो । त्यसैले अहिलेको चुनावले कम्युनिष्टलाई पाँच वर्षको आवधिक अधिकार दिएको छ । राम्रा काम गरे समर्थन र नराम्रा काम गरे रचनात्मक विरोध गर्नु बाहेक अर्को विकल्प छैन ।