पूर्बराजदुत केशव झा आफ्नै घरमा मृत अवस्थामा

maitrinews

 


काठमाडौं । पूर्वराजदूत केशव झा आफ्नै घरमा मृत भेटिएका छन् । काठमाडौको बबरमहलस्थित आफ्नै निवासमा ८० बर्षीय झा मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंका एसएसपी बसन्त लामाका अनुसार, झा आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । घरको भान्सा कोठामा रहेको चक्कुले घाँटीमा प्रहार गरिएको हुनसक्ने एसएसपी लामाले जानकारी दिएका छन् ।

झा को हत्या भएको हो वा आत्महत्या हो भन्ने भन्न नसकिने प्रहरीले जनाएको छ । ‘भान्साकोठामा रहेको चक्कुले प्रहार गरेको देखिन्छ, हत्या हो वा आत्महत्या हो अनुसन्धानपछि खुल्नेछ । घटना शंकास्पद छ’ उनले भने ।

झा बसेको कोठाको ढोका बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुगेर त्यहाँको ढोका खोल्दा झा मृत्त अवस्थामा फेला परेका थिए । उनको भान्सामा प्रयोग हुने चक्कु झा को शवसँगै भेटिएको एसएसपी लामाले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

घरमा झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु तामाङ मात्र थिए । छोरा बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए छोरी पनि घरमा थिइनन् । प्रहरीले मृतककी श्रीमती र सुरक्षागार्डसँग सोधपुछ गरिरहेको छ । घटनाको गम्भीरतापूर्वक अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।