प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत सिफारिस

maitrinews

काठमाडौँ । संवैधानिक परिषदले प्रधानन्यायाधीशको रिक्त पदमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदको बैठकले मिश्रलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको कानुनमन्त्री भानुभक्त ढकालले जानकारी दिए।

प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा न्यायाधीश भई ३ वर्ष काम गरेको हुनुपर्ने संविधानमा उल्लेख छ। यही प्रावधानअनुरुप न्यायपरिषदले ५ महिनाअघि दीपकराज जोशी, ओम प्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको नाम र अभिलेख संवैधानिक परिषदमा पठाएको थियो।

परिषदले यसअघि प्रधानन्यायाधीश सिफारिस गरेर पठाएका जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गरेको थियो।

जोशी अस्वीकृत भएपछि प्रधान्यायाधीश हुन योग्यता पुगेका न्यायाधीश मिश्र र राणा बाँकी थिए। संवैधानिक परिषदले यी दुईमध्ये वरिष्ठताका आधारमा मिश्रलाई सिफारिस गरेको हो।

रूपन्देही घर भएका मिश्र २०१० साल पुस १६ गते जन्मिएका थिए। उनले आगामी पुसमा अवकास पाउनेछन्।

नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका मिश्रले दिल्ली यूनिभर्सिटीबाट ुकम्पेरेटिभ लुमा स्नातकोत्तर गरेका थिए।

२०३८ साल कात्तिक १० गते शाखा अधिकृत रूमा न्यायसेवा प्रवेश गरेका मिश्र ४ वर्षपछि जिल्ला न्यायाधीश भए। २०६४ सालमा विशेष अदालतका सदस्य न्यायाधीश नियुक्त भए। ४ वर्षपछि उनलाई राजविराज पुनरावेदन अदालतको मुख्य न्यायाधीश नियुक्त गरियो।

मुख्यन्यायाधीश रूपमा १ वर्ष काम गरेपछि उनलाई सर्वोच्च अदालतको न्यायाधीश बनाइयो।

जिल्ला र विशेष अदालतमा काम गर्दा राम्रो छवि बनाएका मिश्रले सर्वोच्च अदालतमा गरेका एनसेल, चुडामणि शर्माको बन्दी प्रत्येक्षीकरण मुद्दा विवादित बनेका थिए।

जोशी प्रधानन्यायाधीश अस्वीकार नभएका भए मिश्रले सर्वोच्चका न्यायाधीशबाटै विदा लिनुपर्ने थियो।

सर्वोच्च अदालत ६ महिनादेखि प्रधानन्यायाधीश बिहीन छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषद सचिवले अवकाश दिएपछि यो पद रिक्त छ।