श्रीलंकाका राष्ट्रपति सिरिसेनाव्दारा लुम्बिनीको भ्रमण

बुटवल । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । उनी काठमाडौंबाट चार्टर विमानमा गौतमबुद्ध विमानस्थल भैरहवा हुँदै गाडीमा लुम्बिनी पुगेका हुन ।

यसअघि हेलिकोप्टरमार्फत लुम्बिनी जाने तयारी भए पनि उनी भैरहवाबाट गाडीमै आएका छन्। राष्ट्रपति सिरिसेनालाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गरेका छन्।

उनले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पूजा अर्चनागरेका छन् । मायादेवी मन्दिर पछि लुम्बनीमै रहेको श्रीलंकाद्वारा निर्मित श्रीलंकन गुम्बामा पुगेका छन्। श्रीलंकाद्वारा बनाइएको त्रिग्रिम गेस्टहाउका बारेमा जानकारी लिएका छन् । लुम्बिनी विकास कोषले सिरिसेनालाई लुम्बिनीको गुरुयोजना बारे जानकारी गराइने कार्यक्रम रहेको कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए।

विमस्टेक सम्मेलनमा भाग लिन आएका सिरिसेना लुम्बिनी आउने भएपछि लुम्बिनी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाका लागि सुरक्षा निकायका ४ वटै अंग परिचालन भएका छन्। बिहान साढे ८ बजेदेखि नै भैरहवा–लुम्बिनी सडक खण्डमा सर्वसाधरणलाई निषेध गरिएको छ।