बिमिस्टेक सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन भूमिका खेल्योः परराष्ट्रविद्

maitrinews

काठमाडौँ । बिमिस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै आगामी पाँचौ सम्मेलन श्रीलंकामा हुने तय गरेको छ । अध्यक्ष राष्ट्रको जिम्मेवारी पनि नेपालले श्रीलंकालाई सुम्पेको छ ।

बिमिस्टेकको चौथो शिखर सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन ठूलो भूमिका खेलेको परराष्ट्र मामिलाका जानकारहरुले बताएका छन् । संगठनका सदस्य राष्ट्रका प्रमुखहरुको स्वागत तथा चौथो शिखर सम्मेलनका लागि तय गरेका एजेन्डा अन्तर्राष्ट्रियस्तरमा मजबुद रहेको जानकारहरुको भनाई छ ।

पूर्व राजदूत तथा पूर्व परराष्ट्रमन्त्री डा भेष बहादुर थापाले पनि बिमिस्टेकको शिखर सम्मेलनमा नेपालले खेलेको भूमिको प्रशंसा गर्नुभयो ।  थापाले सम्मेलनले जारी गरेको १८ बुँदे घोषणापत्रमा पनि विगतका कमिकमजोरी सच्याउँदै अघि बढ्ने विषय उल्लेख गरिएको बताउनुभयो ।

पूर्वमन्त्री डा थापाले सम्मेलनले गरेका घोषणा कार्यान्वयन नहुन समस्याको विषय रहेको भन्दै दुई देशबीचको सम्बन्धलाई मजबदु बनाउन पनि क्षेत्रीय संगठनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपाल जस्तो मुलुकले व्यापार घाटा कम गर्न क्षेत्रीय संगठनमार्फत सहयोग लिनुपर्ने भन्दै बजारको सुधारका लागि दुवै देशबीचको सम्बन्धलाई मजबुद बनाउनुपर्ने र संगठनमार्फत राष्ट्रबीचका खटपट अन्त्य गर्नुपर्ने बताउनुभयो ।
परराष्ट्र मामिलाका जानकार हिरण्यला श्रेष्ठपनि सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न भएको बताउँनुहुन्छ ।