काठमाडौं विमानस्थल १२ घण्टापछि संचालनमा

 


काठमाडौँ  । शनिबार राति ८.३५ देखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टापछि संचालनमा आएको छ । अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानतर्फ धाँसिएको यती एयरलाइन्सको विमान हटाएपछि विमानस्थल संचालनमा आएको हो ।

मुलुकको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल बन्द भएपछि शनिबार रातियता आन्तरिक र अन्तरराष्ट्रिय उडान ठप्प भएकाथिए।

नेपालगञ्जबाट काठमाडौं उत्रिएको उक्त विमानमा चालक दलसहित २१ जना यात्रु थिए। जहाजमा रहेका ५ यात्रुलाई सामान्य चोट लागेको थियो। चालक दल र अरु यात्रुको अवस्था सामान्य छ। अवतरणका क्रममा जहाज चिप्लिँदा अगाडिको ल्याडिंग गियर भाँच्चिदाँ विमान धावनमार्गमै अड्किएको थियो  ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिहान ८ंं३० बजे चिप्लिएको विमान धावनमार्गबाट हटाएर विमानस्थल संचालनमा आएको बताए। लगातारको वर्षा र हिलोका कारण विमान हटाउन ढिलाई भएको थियो। दर्जनौं उडान रोकिँदा सयौ‌ं यात्रु विमानस्थलमा अलपत्र परेका थिए।