नेकपाबारे झलनाथ खनाल भन्नुहुन्छ– ‘अन्तिममा न काली रहन्छ न त सेती नै’

maitrinews

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पूर्व एमाले र पूर्व माओवादीको एकता काली गण्डकी र सेती गण्डकी जस्तै भएको बताउनुभएको छ । ‘गण्डकी क्षेत्रमा जाने हो भने त्यहाँ दुई ओटा खोला छन् । एउटा काली गण्डकी र अर्को सेती गण्डकी । ती दुई ओटा खोला दोभानमा मिसिन्छिन् । त्यहाँँ मिसिदाँ एकातिरबाट काली आउँछ अर्कोतिरबाट सेती आउँछ र मिसिन्छ । त्यसपछि निकै तलसम्म काली काली नै भएर वगिरहेको हुन्छ, एउटा किनाराबाट । अर्को किनाराबाट सेती सेती नै भएर बगेको हुन्छ,’ उहाँले रेडियो नेपालको घटना र विचारसँगको कुराकानीका क्रममा भन्नुभयो , ‘तर, विस्तारै हेर्दै जानुहोस् । अलिक तल जान्छ मिसिदैँ जान्छ, मिसिदैँ जान्छ र रुपान्तरित हुन्छ । अन्तिममा न काली रहन्छ न त सेती नै रहन्छ ।’
खनालले केही हप्ता भित्रै सबै एकता प्रक्रिया टुङ्गिने पनि जानकारी दिनुभयो । ‘एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउनका लागि अहिले हामी लागि रहेका छौँ । अहिले जुन ढंगले पूर्व नेकपा एमाले, पूर्व नेकपा माओवादी भनेर जसरी भनिरहनु परेको छ यो छिट्टै टुंगिन्छ,’ उहाँले भन्नुभयो, ‘हामीले एकता प्रक्रियालाई राम्ररी र नीति–निष्ठ ढंगले अघि बढाउनु पर्छ । विधि निष्ठ ढंगले अघि बढाउनु पर्छ । नीति र विधिलाई तलमाथि नपारी अघि बढ्न सक्यौँ भने पार्टीका दुई रंग मेटिन्छ र नेकपा एउटा गौरवशाली, जनव्यापि, राष्ट्रव्यापि बन्छ ।’
त्यसका लागि नेतृत्व पनि गतिशील हुनुपर्ने जिकिर गरे । ‘जति छिटो बैठक भेला बोलाउँछ । जति चाँडो एकता प्रक्रिया अघि बढाउँछ । त्यति नै चाँडो एकता प्रक्रियाले अन्तिम रुप प्राप्त गर्छ,’ उहाँले भन्नुभयो ।