अदालतको आदेशपछि रिहा भए छविलाल, बाजा बजाएर स्वागत

maitrinews

काठमाडौं । गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणका आरोपी छविलाल पौडेल चितवन जिल्ला अदालतको आदेशपछि रिहा भएका छन् । डिल्लीबजार कारागारमा रहेका पौडेललाई रिहा गर्न अदालतले आइतबार आदेश दिएको थियो । उनी सोमबार बिहान रिहा भएका हुन् । सोमबार बिहान रिहा गर्न पुगेका आफन्तले पौडेललाई माला लगाइदिँदै बाजा बजाएर स्वागत गरेका थिए ।

चितवन जिल्ला अदालतले आइतबार १३ जना प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिएको थियो । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस्तो फैसला सुनाउँदै १३ जनामध्ये एकजना रुद्र आचार्य अहिलेसम्म पक्राउ नपरेको हुँदा पछि ठहर्ने गरी अन्य १२ जनालाई सफाइ दिइएको हो ।

सफाइ पाउनेमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल, रामप्रसाद अधिकारी लगायत रहेका छन् । अदालतले थुनामा रहेका पौडेललाई थुनामुक्त गर्न भनेको थियो ।

गोरखाका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका छोरा कृष्णको २०६१ साल जेठमा चितवनमा हत्या भएको थियो । हत्या तत्कालिन माओवादीका नेताले गरेको भन्दै कृष्णका बुवा र दाजुले चितवनमा जाहेरी दिएका थिए । नन्दप्रसाद र गंगामायाले छोराको हत्यारालाई कारवाहीको माग गर्दै अनशनमा बसेपछि अनुसन्धान प्रक्रिया अघि बढेको थियो ।

छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशनमा बसेका नन्दप्रसादको अनशनकै क्रममा निधन भएको थियो आमा गंगामायाले केहीअघि अनशन तोडेकी थिइन् ।