प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत

maitrinews

काठमाडौँ । प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको छ । संसदीय सुनुवाईपछि मिश्रको नाममा सबै सदस्यहरुले अनुमोदन गर्न सहमत भएका हुन् । उनी पुस १७ गतेसम्म प्रधानन्यायाधीश हुनेछन् । राष्ट्रपतिबाट सपथ लिएपछि उनले औपचारिक रुपमा पदबहाली गर्नेछन् ।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रमाथि सोमबार सुनुवाइ गरेको हो । संवैधानिक परिषदले गत भदौ ७ गते मिश्रको नाम सिफारिस गरेको थियो।

यसअघि संवैधानिक परिषदले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको थियो। तर संसदीय सुनुवाईपछि विभिन्न समस्याहरु देखाउँदै समितिले नाम अनुमोदन नगरेपछि मिश्रको नाम सिफारिस भएको हो। संसदीय सुनुवाईबाट अनुमोदन नभएका जोशी त्यसपछि निरन्तर बिदामा छन्।

समितिमा मिश्र विरुद्ध ४ वटा उजुरी परेकोमा एउटा फिर्ता भइसकेको छ। समितिले उजुरीहरुको सनाखतका साथै उजुरीकर्तासँग समेत छलफल गरेको छ।

२०७१ साल जेठ १३ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त मिश्रलाई अप्रत्याशीत रुपमा ‘प्रधानन्यायाधीश’को मौका परेको हो।

यसअघि जोशीको नाम अनुमोदन भएको भए वरिष्ठतम् न्यायाधीशको हैसियतमा उनले पुस १७ गते अवकाश पाउने थिए। नाम अनुमोदन भएमा मिश्र ६५ वर्षे उमेरहदका कारण पुस १७ गते अवकाश पाउनेछन्। त्यसपछि चोलेन्द्रशम्शेर राणाको पालो आउनेछ।