सरकारसँग असन्तुष्ट रहेका द्वन्द्वरत समूहलाई वार्ताका लागि आग्रह

maitrinews

 


काठमाडौँ । सरकारसँग असन्तुष्ट रहेका द्वन्द्वरत समूह तथा राजनीतिक व्यवस्थासँग असन्तुष्ट रहेका पक्षहरूलाई अविलम्ब वार्तामा बस्न राजनीतिक वार्ता टोलीले आग्रह गरेको छ ।
सबै प्रकारको द्वन्द्व निर्मूल गरी सहमतिका माध्यमबाट शान्ति, सहिष्णुता र पारस्परिक सद्भाव कायम गर्दै समावेशी, समतामूलक, न्यायपूर्ण राज्य स्थापना गर्न खोजेको र सबैप्रकारका असहमति वार्ताकै माध्यमबाट टुंग्याउन खोजिएको भन्दै सरकारले गत भदौ ८ गते वार्ता टोली गठन गरेको थियो । उक्त टोलीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै वार्तामा बस्न आग्रह गरेको हो ।
विगतको सम्वैधानिक, राजनीतिक सम्वाद तथा सहमति समिति एवम् अन्य वार्ता समितिले विभिन्न सशस्त्र, निःशस्त्र समूहसँग वार्ता गरेर मूलधारमा ल्याएको र कतिपय छुटेको भन्दै तिनलाई पनि मूलधारमा ल्याउन पहल थालिएको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले जनाएका छन् ।
पाँच सदस्यीय टोलीलाई संक्रमणकालीन परिवेशमा भएका मधेश आन्दोलनलगायत अन्य आन्दोलन र सरोकारवाला पक्षसँग नेपाल सरकारको तर्फबाट वार्ता गरी सहमति–सम्झौता, समझदारीका आधारमा विषय अध्ययन–विश्लेषण गरी कार्यान्वयनका लागि सुझाव दिने अधिकार प्रत्यायोजन गरिएको छ ।