नौबिसे– नागढुंगा सुरुङमार्ग निर्माण कार्य छिट्टै  शुरू हुँदै

maitrinews

 

काठमाडौं । सडकका लागि प्रयोग हुनेगरी नेपालमा निर्माण हुन लागेको पहिलो सुरुङ निर्माण कार्य छिट्टै सुरु हुन लागेको बताइएको छ ।

धादिङको नौबिसेनजिकै पर्ने सिस्ने खोलाबाट नागढुंगाभित्र फेदीमा अवस्थित बस्नेत छाप जोड्ने सुरुङ मार्ग निर्माण कार्य छिट्टै सुरु हुने भएको हो ।

राजधानी भित्रिने प्रमुख नाका नागढुंगामा सवारी आवागमनको चाप घटाउन सुरुङ मार्ग निर्माण हुन लागेको हो ।
गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेको र सुरुङ मार्ग वरिपरिको जग्गाको मुआब्जा समेत निर्धारण भई काम अघि बढेको सडक विभागले जनाएको छ ।
सुरुङ निर्माणका लागि यसअघि गत महिना बोलपत्र आह्वान गरिसकेको र आगामी एक महिनाभित्र ठेक्का सम्झौता हुने विभागले जनाएको छ ।
सुरुङ निर्माणका लागि मुआब्जा वितरण पनि शुरू भइसकेको विभागले बताएको छ । निर्माण कार्यको टेन्डर निकालेको ठीक एक महिना भयो । एक महिनाभित्र टेन्डर राख्छन् र तीन चार महिनाभित्र काम शुरू हुन्छ ।’ विभाग स्रोतले भन्यो ।
२ दशमलव ४५ किलोमिटर लम्बाइको सुरुङ मार्ग जापानी सहयोग नियोग ९जाईका०को सहयोगमा निर्माण हुन लागेको हो । जसका लागि जाईकाले १७ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने सम्झौता भइसकेको छ । जापानले नेपाल सरकारलाई शुन्य दशमलव ०१ प्रतिशत ब्याजदरमा यो ऋण उपलब्ध गराएको हो । ४० वर्षभित्र तिरिसक्नु पर्ने यो ऋणको अवधि ३० वर्षको हुनेछ भने १० वर्ष ग्रेस अवधि थपिने छ । धादिङको नौबिसेनजिकै पर्ने सिस्ने खोलाबाट नागढुंगाभित्र फेदीमा अवस्थित बस्नेत छाप जोड्ने सुरुङ मार्ग निर्माण भएपछि काठमाडौं भित्रिन र काठमाडौंबाट बाहिरिन निकै सहज हुने विश्वास छ । सुरुङ मार्गलाई सिधै सीतापाइलासँग जोड्न लिंक रोड निर्माण हुनेछ ।

सुरुङ मार्गसँगै सीतापाइला– नौबिसे सडकखण्ड पनि अहिलेको भन्दा ८ किमी छोटिनेछ । यस खण्डमा दुईवटा पुल र २ वटा कल्भर्ट समेत निर्माण हुनेछन् । १२ मिटर चौडाइको यो सडकमा दुवैतिर १ र १ मिटरको फूटपाथ राखिने छ । सुरुङमा १४ वटा भेन्टिलेटर र जेट फ्यान जडान हुनेछन् ।

सरकारले सुरुङ मार्गलाई अत्याधुनिक सुविधासहित निर्माण गर्ने योजना बनाएको छ । यसमा दुई लेनको सडकसहित पेट्राल पम्प, सर्भिस सेन्टर लगायतका सुविधाहरू पनि राख्ने अवधारणा छ ।
सुरुङ मार्ग टू प्लस वान लेन मापदण्डको हुन्छ । टू प्लस वान लेन सडक खण्डमा दुबै साइडका सडक बेलाबेलामा २ लेनमा परिणत हुने र कुनैबेला वान लेनमा खुम्चने हुन्छ । एकपट्टिको सडक २ लेन हुँदा अर्कोपट्टिको सडक १ लेनमा परिणत हुन्छ । सुरुङ मार्ग निर्माणपछि २० मिनेटमै नौबिसेबाट काठमाडौं आइपुगिने विभागले जनाएको छ ।