आगलागि पीडितलाई सान्त्वना दिन मेयर शाक्य घटनास्थलमै पुगेपछि…

maitrinews

काठमाडौँ । ‘शिक्षक, प्रहरी, मेयर र न्यायाधीश भगवानका दूत जस्तो बन्नु पर्दछ । शिक्षक, प्रहरी, न्यायाधीस र मेयर श्रद्धाका मन्दिर हुन् । यिनीहरु नागरिकका अन्तिम सहारा हुन् ।’ जापानी गुरुको नोटका यी भनाईसँग मंगलबारको एक घटनाका सन्दर्भमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग पनि ठ्याक्कै मेल खाएको छ । मंगलबार बिहान करिब ४ बजे काठमाडौँको ज्याठामा आगलागी भयो । पानी तान्ने मोटर जोड्ने क्रममा निस्किएको आगोको झिल्काले ट्रेकिङका लागि प्रयोग हुने अक्सिजनको सिलिन्डरमा आगो सल्किएपछि त्यसले भयानक रुप लियो । स्थानीय सुमन स्थापितको भुइँतलामा ट्रेकिङका लागि प्रयोग हुने अक्सिजनका करिब ८० मध्ये २५ वटा सिलिण्डरमा आगो लाग्दै गएपछि क्रमशः पड्किदैँ गए । स्थानीयमा निकै भागदौड मच्चियो । निकै कोलाहलपूर्ण वातावरण त्यहाँ निर्माण भयो । आफ्नै महानगर पालिका भित्रै यस्तो घटना भएको सुन्ने वित्तिकै काठमाडौँ महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्य हतार–हतार घटनास्थल पुग्नुभयो । त्यति मात्र होइन उहाँले वडा २७ र आसपास वडा समितिका अध्यक्ष, वडा सदस्य तथा महानगरको विपद् व्यवस्थापन विभागका अधिकारीलाई पनि लिएर त्यहाँ पुग्दा स्थानीयले अविभावकत्व प्राप्त गरेका थिए । मेयर शाक्यले केहीबेर स्थानीय प्रत्यक्षदर्शीसँग कुराकानी समेत गर्नुभएको थियो । घटनामा ७ जना घाइते भएका थिए । घाइतेमध्ये सुमन स्थापितसहित अन्य ७ जनालाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । मेयर शाक्य त्यहाँ पनि पुग्नुभयो । मेयर शाक्यले ट्रमा सेन्टर पुगेर घटनाको विवरण र तथ्य संकलन गरेर पीडितलाई सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । यसरी मेयर नै आएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दा उपचाररत विरामी पनि भावुक बनेका थिए ।