सशस्त्र तथा निशस्त्र रुपमा आन्दोलनमा रहेका समूहहरुलाई राजनीतिको मूलधारमा ल्याउने सरकारको यस्तो प्रयास

maitrinews

काठमाडौँ । समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन अघि बढेको नेपाल कम्युनस्टि पार्टी नेकपा नेतृत्वको वर्तमान सरकार समाजभित्र रहेका अशान्तिपूर्ण गतिविधिलाई पनि शुन्य बनाउने अभियानमा लागिपरेको छ । संक्रमणकालमा विभिन्न कारणले वार्ता हुन नसकेका तथा राजनीतिक मागसहित सशस्त्र तथा निशस्त्र रुपमा आन्दोलनमा रहेका समूहहरुलाई पनि राजनीतिको मूलधारमा ल्याएर समाजमा शान्तिस्थापनाका लागि सरकारले काम थालेको छ ।

भदौ आठ गते शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नेकपाका नेता तथा प्रतिनिधिसभा सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली गठन गर्दै आन्दोलनरत समूहलाई पनि राजनीतिको मूलधारमा ल्याएर शान्त समाज निर्माणका काम थालेको हो ।

अन्तरिम संविधानबमोजिम गठित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट छुटपुट भएका विषयलाई निरन्तरता दिन र विगतमा सहमति–सम्झौता कार्यान्वयनका निम्ति सुझावसहितको प्रतिवेदन पेश गर्न पाण्डेको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीमा तनहुँका सुरेश आले मगर, सप्तरीका तारानाथ चौधरी, कैलालीका लीला भण्डारी र गृह मन्त्रालयका सहसचिव कुमार खड्का सदस्य हुनुहुन्छ ।

यो वार्ता टोलीले पनि आफ्नो कामलाई द्रुतगतिमा अघि बढाएको छ । मन्त्रिपरिषदले समिति गठन गरेको एक हप्ताभित्रै सिंहदरबारभित्रै कार्यालय बनाएर काम थालेको टोलीले द्वन्द्वरत समूहको पहिचान गरी वार्ताका लागि औपचारिक आह्वान पनि गरिसकेको छ । वार्ता टोलीले आन्तरिक रुपमा छलफल गर्नुका साथै पूर्वशान्तिमन्त्री, पूर्वगृहमन्त्री, सुरक्षा निकायका पूर्वप्रमुखहरुसँग छलफल गरी सोमबार वार्ता टोलीका संयोजक पाण्डेले वर्तमान अवस्थामा सरकारसँग असन्तुष्ट रहेका र द्वन्द्वरत सम्पूर्ण समूहलाई वार्तामा आउन औपचारिक रुपमा आह्वान गर्नुभयो ।

द्वन्द्वरत समूहलाई वार्तामा बोलाउनुअघि उच्चस्तरीय राजनीतिक वार्ता टोलीले अहिले नेपालमा सशस्त्र तथा निशस्त्र रुपमा सरकार विरोधी गतिविधि सञ्चालन गरिरहेका २५ समूहको पहिचान गरेको छ । वार्ताका लागि औपचारिक आह्वान गरेको दुई दिनभित्रै तीन समूहले वार्ताका लागि पत्राचार गरेको, भूमिगत समूहले पनि वार्ताका लागि आउने इच्छा जनाएको र उनीहरुले वार्तामा आउँदा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखेको वार्ता टोली संयोजक पाण्डेले जानकारी दिनुभयो ।

वार्ताका लागि पहिचान गरिएका २५ समूहमध्ये नौ समूहसँग भूमिगत वार्ता गरी तार्किक निष्कर्षमा पु¥याउनुपर्ने वाध्यता टोलीसँग रहेको भन्दै संयोजक पाण्डेले विद्रोह गर्ने समूहलाई निमिट्यान्नै पार्ने गरी वार्ता गरिने बताउनुभयो ।

सीके राउत समूहको आन्दोलन राजनीतिक हो कि होइन भन्ने मै शंका उत्पन्न भएकाले त्यो समूहसँग वार्ताका लागि कुनै छलफल र सम्पर्क नगरिएपनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भने वार्ताका लागि सम्पर्क र पहल भइरहेको संयोजक पाण्डेले बताउनुभयो ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले बिद्रोहको आवाज उठाउने कुनै पनि समूह समाजमा नरहुन भन्ने मनशायका साथ आफ्नो नेतृत्वमा अधिकारसम्पन्न वार्ता टोली गठन गरिएको भन्दै संयोजक पाण्डेले विगतमा गठन गरिएका वार्ता टोलीले गरेको कमिकमजोरीबाट पनि पाठ सिक्दै निर्णायक र दीर्घकालिन समस्या समाधान गर्ने गरी वार्ता गर्ने वताउनुभयो ।
वार्ता टोलीले सबै समूहसँग कसरी वार्ता गर्ने भन्ने विषयमा मोडालिटी तयार नपारेको भएपनि बढी पहुँच र नेटवर्क भएका समूहसँग पहिले वार्ता गर्ने र अरु समूहहरुसँग क्रमसः वार्ता गर्दै अघि बढ्ने योजना बनाएको छ । आशा गरौं संगठित वा असंगठित रुपमा खुलेका यि विभिन्न समूहहरु वार्तापछि विस्तारै कम हुँदै जानेछन् । र शान्त, सुखी र समृद्ध नेपाल निर्माणमा बल पुग्नेछ ।