पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन

काठमाडौँ । सत्यमोहन जोशीले पद्मरत्न तुलाधरलाई अभिनन्दन गर्नुभएको छ ।

राजधानीमा आयोजित कार्यक्रमा जोशीले उहाँलाई भगवान् बुद्धको मूर्ति प्रदान गर्नाका साथै उहाँको सम्मानमा ‘झी पद्मरत्न अभिनन्दन ग्रन्थ’ नामक पुस्तक पनि विमोचन गर्नुभयो । वामपन्थी नेता तुलाधरले नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिलाउन तथा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गराउन दशकौँसम्म सङ्घर्ष गर्नुभएको थियो ।

नेवारी परम्पराअनुसार ७७ वर्ष सात महीना ७ दिन ७ घण्टा ७ पलामा गरिने एक महीना लामो ज्याः जँक्वो तुलाधरको अभिनन्दनसँग सम्पन्न भएको छ । सो अवसरमा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेवा भएर जन्मिनु नै ठूलो सौभाग्य भएको बताउँदै अरू कुनै जातिमा नभएको ७७ वर्ष ७ महीना ७ दिन ७ घण्टा तथा ७ पलामा गरिने भीमरथारोहणको संस्कृति नेवार जातिमा मात्र रहेको बताउनुभयो ।

जोशीले ७७ वर्ष पुगेको व्यक्ति भीमसेन जस्तै बलियो हुने विश्वास नेवारी समुदायमा रहेकाले यसलाई भीमरथारोहण भनिएको बताउनुभयो । उहाँले काललाई नै जितेर ७७ वर्ष पार गर्ने व्यक्तिलाई कालजयी भन्ने गरिएको उल्लेख गर्नुभयो ।

जोशीले शान्ति प्रक्रियाका पक्षपाती पद्मरत्न तुलाधरले नेपाल संवत्, भाषा आन्दोलन, मानव अधिकारको क्षेत्र तथा नेपालमा भएको १० वर्ष लामो द्वन्द्वको समयमा शान्तिदूत भई महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो । मानव अधिकारवादीसमेत रहनुभएका वामपन्थी नेता तुलाधरले लामो सङ्घर्षपछि देशमा सङ्घीयता स्थापित भए पनि नेपाली जनताले चाहेको सङ्घीयता अझै नआएको बताउँदै जनताको आन्दोलन जारी रहेको बताउनुभयो । उहाँले प्रदेश नं ३ को नाम नेवा ताम्सालिङका लागि आन्दोलन हुने बताउँदै यहाँको मुख्यमन्त्रीमा तामाङ वा नेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक एवं वरिष्ठ पत्रकार मल्ल के. सुन्दरले पद्मरत्न तुलाधर व्यक्ति नभई जनताको शक्ति भएको बताउनुभयो । पद्मरत्न तुलाधर नेतृत्वको २०३६ सालमा शुरु भएको नेपाल भाषा आन्दोलन बनेपा, पाल्पा, वीरगञ्ज, विराटनगर, दार्जिलिङ, सिक्किमसम्म विस्तार भएको उहाँले बताउनुभयो ।

पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गर्न तुलाधरको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले लेख्नुभएको ओपेरा तथा नेपाल भाषाका वरिष्ठ साहित्यकार भुषणप्रसाद श्रेष्ठले लेख्नुभएको अभिनन्दन गीत प्रस्तुत गरिएको थियो । यसअघि आजै बिहान तुलाधरको निवासलाजिम्पाटबाट एक शुभकामना ¥यालीले नगर परिक्रमा गरिएको थियो ।
–––