दुई सय ऋण तिर्न नसक्दा राधाकृष्णलाई एक वर्ष जेल चलान

Maitrinews


जनकपुर । मुलुकमा नयाँ अपराध संहिता आएपछि लेन–देन मुद्दामा सजिलो हुने विश्वास गरिएको बेला धनुषाका एक दलितले महाजनलाई दुई सय ऋण चुकाउन नसक्दा आइतबार एक वर्षको लागि जेल चलान गरिएका छन् ।

जनकपुर उपमहानगरपालिका–१८, कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग ९खत्वे० आइतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेका थिए।

‘सुरुमा अदालतका कर्मचारीहरुले पक्राउ पूर्जी दिन आनाकानी गरेका थिए। पछि नागरिकता प्रमाणपत्र देखाए पछि, बल्ल जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखे,’ खंगसंगै अदालत पुगेका सोही गाउँका कुशेश्वर मेस्तरले जानकारी दिए।

मेस्तरका अनुसार– खंगलाई जिल्ला अदालत पुर्‍याउन गाउँका सातजना दलितसँगै आएका थिए। ‘हामी स्नान र पुजा गरी गाउँको शिवमन्दिरमा भेला भयौं। भगवान शिवलाई साक्षी राखी सीधा जिल्ला अदालत पुगेर खंगलाई आत्मसमर्पण गरायौं,’ उनले भने।

पत्रकार महासंघ धनुषाको विद्यापति चौकस्थित कार्यालयमा शनिबार पत्रकार सम्मेलन आयोजन गरी खंगले आफू आत्मसमर्पण गर्न लागेको जानकारी गराएका थिए। ‘प्रहरी पटक–पटक घरमा जान्छ। परिवारका महिला, पुरुषलाई धम्काउँछ। घर परिवारका सदस्यहरुलाई दुस्ख दिनुको सट्टा जेलमै बस्छु,’ उनले भनेका थिए।