दोषी पत्ता लगाउने प्रमको प्रतिबद्धता

maitrinews

काठमाडौँ । निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्रीसँग भेट गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गा र बुबा यज्ञराजसँग त्यस क्षेत्रका सांसद र अधिकारकर्मीहरुसहितलाई भेट गर्नुभएको हो ।

भेटमा घटनाको विवरण सुनाउँदै निर्मलाकी आमा दुर्गाले न्याय पाउने कि नपाउने ? भनि प्रधानमन्त्री ओलीलाई प्रश्न गरिन् । दुर्गाले कञ्चनपुरमा आन्दोलन गर्दा पनि न्याय नपाएपछि आफूहरु काठमाडौं आउनु परेको बताइन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले आफू पनि निर्मलाको अभिभावक भएको र घटनाप्रति आफू दुस्खी रहेको बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीका अनुसार भेटमा निर्मलाका आमाबुबासँग प्रधानमन्त्रीले सरकार घटनाप्रति गम्भीर भएको बताउँदै दोषी छिटै पत्ता लगाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सो घटनालाई आफूले सुरुदेखि नै गम्भिरतापूर्वक लिएको उल्लेख गर्दै घटनालाई ढाकछोप हुन नदिन सरकारले धेरैवटा छानवीन टोली परिचालन गरेको पनि स्मरण गराउनुभयो । उहाँले घटनाको तथ्य पत्ता लगाउन डिआईजी नेतृत्वको शक्तिशाली छानविन टोली परिचालन गरिएको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले घटनामा प्रमाण नष्ट गर्नेलगायतका काम गरेको पाइएपछि त्यहाँ परिचालित ६ जना प्रहरी अधिकृतलाई निलम्बन गरिएको पनि स्मरण गराउनुभयो ।
यसअघि निर्मलाका आमाबुबाले गृहमन्त्री रामबहादुर थापालाई समेत भेटेर ज्ञापनपत्र बुझाएका थिए ।