भाडा बढाउन नपाउँदा व्यवसायीले दसैंको टिकट बुकिङ खोलेनन्, यात्रु रित्तो हात फर्किए

maitrinews


काठमाडौं । यातायात व्यवसायीले भाडादर समायोजन र रोक्का खाता फुकुवाको माग अघि सार्दै दसैंको टिकट बुकिङ नखोल्ने निर्णय गरेका छन् । आजदेखि दसैंको टिकट बुकिङ खुला गर्ने यसअघि सहमति भएको भए पनि व्यवसायीले आफूहरुले अघि सारेका माग पूरा नभएसम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने बताएका हुन् ।

“हामीले सरकारसँग गरेको सहमतिअनुसार कर्मचारीलाई तलब दिन खाता फुकुवा गर्नैपर्छ, तर गरिएको छैन । अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पुरानै भाडादरमा टिकट बुकिङ गर्न सकिँदैन,” नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले  भने ।

उनका अनुसार आफूहरुले सरकारलाई भाडादर समायोजन गर्न आग्रह गरेको भए पनि बेवास्ता गरेका कारण टिकट बुकिङ खुला नगरिएको बताए ।

यसअघि यातायात व्यवस्था विभागमा भएको सहमतिअनुसार व्यवसायीले आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्नुपर्ने थियो । महासचिव सिटौलाले सरकारले भाडा समायोजनसहित अन्य माग पूरा नगरेसम्म आफूहरुले टिकट बुकिङ खुला नगर्ने बताए ।
यसैबीच आजदेखि अग्रिम टिकट बुकिङ खुला हुने भन्दै टिकट लिन नयाँ बसपार्क पुगेका यात्रु खाली हात फर्किनुपरेको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसीले बिहानै टिकट लिन आएका यात्रु रित्तो हात फर्किएको बताए ।

व्यवसायी महासंघका महासचिव सिटौलाले २०६९ सालदेखि भाडा प्रत्येक वर्ष समायोजन गर्ने भनिएको भए पनि त्यसयता एकपटक पनि समायोजन हुन नसकेकाले अब समायोजन नभएसम्म टिकट बुकिङ खुला नहुने बताए । उनका अनुसार ३१ गते भएको सहमति यातायात व्यवस्था विभागले नै कार्यान्वयन नगरेको उनको भनाइ छ । उनका अनुसार ३१ गते रोक्का भएको खाता फुकुवा र भाडा समायोजन गर्ने सहमति विभागले नै कार्यान्वयन गरेको छैन ।