दशैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ, सफा र सुकिला नोट साटिदिने

maitrinews

काठमाडौं । यो वर्षको दशैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ, सफा र सुकिला नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्मका दरले नयाँ नोट साटने सुविधा दिने तयारी राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मी प्रपन्न निरौलालले भने, ‘सर्वसाधारणले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन्’। 

राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट साटिदिने तयारी गरेको निरौलालले जानकारी दिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि बिहीबार देखि नयाँ नोट वितरण गर्दै छ । 

राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको थियो । सोही अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थालाई ५० अर्ब रुपैयाँ बराबरको नयाँ र सुकिला नोट वितरण गरेको थियो । 

यसैगरी, उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् । मोफसलमा राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, राष्ट्र बैंकले अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको हो । ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौं’ भन्दै राष्ट्र बैंकले यो आग्रह गरेको हो ।

सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिएमा प्रहरीले सिधै पक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनमा छ ।

राष्ट्र बैंकको सूचना

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, उपत्यका बाहिरका विराटनगर, जनपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयहरु, यस बैंकको नोटकोष रहेका वाणिज्य बैंकका शाखाहरु, नेपाल बैंक लिमिटेड, राष्ट्रि वाणिज्य बैंक र कृषि विकास बैंकमार्फत देहायबमोजिमका शाखाहरुबाट २०७५ असोज २१ गतेदेखि असोज २९ गतेसम्म ५, १०, २०, ५० दरका दुई÷दुई पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले सटही सुविधा उपलब्ध गराइने भएको हुँदा आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्नुहुन अनुरोध छ ।

(क) नेपाल बैंक लिमिटेड, शाखा कार्यलयहरु
न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा 
(ख) राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालयहरु
सिंहदरबार प्लाटी, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशालबजार, नक्साल, कलंकी र बालाजु शाखा 
(ग) कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालयहरु
गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखा