टी—२० विश्वकप छनोटः नेपालको लक्ष्य च्याम्पियन बन्ने

काठमाडौं । दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी—२० विश्वकप खेल्ने आकांक्षा राखेको नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ मलेसिया प्रस्थान गरेको छ । पारस खड्काको कप्तानीमा रहेको टोली मलेसियाका लागि प्रस्थान गरेको हो
विश्वकप एसिया छनोट ‘बी’ मा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । नेपालले पहिलो खेल म्यानमारसँग खेल्नेछ । समुहका शीर्ष तीन टोली अर्को चरणमा पुग्नेछन् ।

एसियाली छनोट ‘ए’बाट यूएई, कतार र कुवेत शीर्ष तीनमा आइसकेका छन् । समूह ‘बी’बाट तीन टोली थपिएर ६ देशबीच खेल हुनेछ र त्यसमा शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

हालै मलेसियामा सम्पन्न एसिया कप छनोटमा खराब प्रदर्शन गरेको नेपाल यस प्रतियागितामा त्यसलाई बिर्सन चाहन्छ । प्रशिक्षक जगत टमाटाको भनाइमा नेपालको लक्ष्य च्याम्पियन बनेर विश्वकप छनोटमा स्थान बनाउने नै हो ।

यूएईलाई छाड्ने हो भने प्रतियोगितामा सहभागी अन्य टिम नेपालभन्दा कमजोर मानिन्छन् । तर, त्यसो भनेर नेपाल ढुक्क हुने अवस्था छैन ।

प्रशिक्षक टमाटा भन्छन्, ‘अरु टिम कस्ता छन् भन्दा पनि हामी राम्रो क्रिकेट खेल्न चाहन्छौं ।

नेपालले यसपाली टोलीको संरचनामा केही परिर्वतन गरेको छ । तीन वर्षपछि प्रदिप ऐरीले टिममा पुनरागमन गरेका छन् । उनी घरेलु टि(२० लिगमा राम्रो लयमा देखिएका थिए ।

ओपनिङमा देखिएको समस्यालाई मध्यनजर गरेर पनि प्रदिपलाई ल्याइएको हो । उनी आक्रामक ब्याटिङका लागि चिनिने हुँदा टि(२० मा राम्रो गर्न सक्ने प्रशिक्षकको विश्वास छ ।

त्यस्तै अर्का हार्ड हिटर विनोद भण्डारी पनि छन् । अनिलकुमार साह र ज्ञानेन्द्र मल्ल पनि ओपनिङका लागि उपलब्ध हुनेछन् । प्रशिक्षक टमाटाले यसपाली ओपनिङमा प्रदिप, विनोद र अनिलमध्ये दुईलाई खेलाउने सम्भावना प्रवल छ । त्यसो भएमा ज्ञानेन्द्र तेस्रो नम्बरमा आउनेछन् भने पारस चौथो नम्बरमा ।

एकदिवसीय टोलीमा पर्न संघर्षरत विनोद टी(२० फ्रेन्चाइज लिगहरुमा ओपनिङमै खेल्ने गरेका छन् । त्यसैले प्रदिप र विनोदले ओपनिङ गरे भने आश्चर्य नहुने स्रोत बताउँछ ।

‘१२० बल खेल्ने हो । त्यसैले सुरुमै हिटरहरु राख्दा फरक पर्दैन भन्ने माइन्ड सेट बनाइएको छ,’ स्रोतले भन्यो ।

चोटका कारण एसिया कप गुमाएका शरद भेषावकर पनि टोलीमा फर्किएका छन् । उनको पुनरागमनले मध्यक्रम बलियो देखिएको छ । पछिल्लो समय मध्यक्रममा खेलिरहेका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल भने यसपाली टोलीमा छैनन् । उनी अन्डर १९ एसिया कप खेल्न बंगलादेशमा छन् ।