पप्पु कन्स्ट्रक्सनले भासिएको पुल नबनाइदिँदा सास्ती

maitrinews

बर्दिया । पप्पु कन्स्ट्रक्सनले यहाँको बबई नदीस्थित जब्दीघाटमा निर्माण गरेको पुल भासिएको एक वर्षभन्दा बढी भयो । उक्त पुल मर्मत नगरिएकाले गुलरिया र बारबर्दिया नगरपालिकाका झन्डै १ लाख बासिन्दाले सास्ती झेल्नु परेको छ । एक वर्षदेखि स्थानीय ५० किलोमिटर लामो घुमाउरो बाटो हुँदै आउजाउ गर्न बाध्य छन् ।

गुलरियाबाट जयनगरस्थित नगरपालिकाको कार्यालय करिब १० किलोमिटरको दूरीमा छ । अहिले गुलरियाबाट लक्ष्मणा, औरी हुँदै बारबर्दिया ओहोरदोहोर गर्नुपर्दा यातायात खर्चका साथै समय पनि बढी लाग्ने गरेको स्थानीयले गुनासो गरे । बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारूले सरकारले कारबाही प्रक्रिया अघि नबढाएकाले यस क्षेत्रका झन्डै १ लाख बासिन्दा कष्टकर यात्रा गर्न बाध्य रहेको बताए ।
छिटो मर्मत नगर्दा आउजाउमा कठिनाइ भएको उनले बताए । पुलबाट मोटरसाइकललाई पार गर्न दिइएको छ ।

चारपांग्रे सवारीका साधनमा सडक डिभिजन कार्यालयले प्रतिबन्ध लगाएको छ । पुल भासिएपछि पुल महाशाखाले छानबिन गरेर पप्पु कन्स्ट्रक्सनलाई दोषी ठहर गरिसकेको छ । महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले पप्पु कन्स्ट्रक्सनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । महाशाखाले कारबाही प्रक्रिया गर्न नमिल्ने भएको छ । अख्तियारले पुल भासिएको बारे छानबिनको जिम्मा लिएकाले उसैले कारबाही गर्ने महाशाखाले जनायो ।

अख्तियार प्रमुख नवीन घिमिरेले पुलको छानबिन प्रतिवेदन एक साताभित्र टुंगो लगाउने बताए । ‘छानबिनको टुंगो लाग्छ,’ उनले भने, ‘यसबाहेक अरू कुरा बोल्न मिल्दैन ।’ उक्त कन्स्ट्रक्सनले १६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर पुल निर्माण गरेको थियो ।

एक वर्षअघि साउन २८ गते बाढी आएपछि पुल भासिएको थियो । गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले पुलको छानबिन चाँडै टुंग्याएर दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पर्साबाट संघीय समाजवादी फोरम लोकतान्त्रिक पार्टीबाट प्रतिनिधिसभा सदस्य छन् ।