गोरखामा सुविधासम्पन्न स्वास्थ्य केन्द्र बन्ने

maitrinews

गोरखा । गोरखा नगरपालिका २ कोखेआहालेमा सुविधासम्पन्न स्वास्थ्य केन्द्र बन्ने भएको छ । कतार रेडकृसेण्ट र गोरखा नगरपालिकाको संयुक्त लगानी तथा यूएनडिपीको प्राविधिक सहयोगमा कोखेआहाले शहरी स्वास्थ्य केन्द्र निर्माण हुन लागेको हो । १४ कोठे सुविधासम्पन्न भवनको एक कार्यक्रमका बिच गोरखा गरपालिकाका नगरप्रमुख राजनराज पन्तले शिलन्यास गरेका छन् ।

२ रोपनी ४ आना जग्गामा निर्माण हुन लागेको स्वास्थ्य केन्द्रको लागत ७१ लाख लाग्ने अनुमान गरिएको छ । स्वास्थ्य केन्द्र निर्माण गर्नका लागि गोरखा नगरपालिका २ आहालेका बाबुदिन मियाँ, ओलीजान मियाँ, जमालदिन मियाँ, जनिफा विवि मियाँ, क्यामदिन मियाँ, अम्मदिन मियाँ र हाजिरी विवि मियाँले निशुल्क रुपमा जग्गा उपलब्ध गराएको वडाध्यक्ष रहमतुल्ला मियाँले बताएका छन् ।

शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले चुनावामा गरेको प्रतिवद्धता पुरा हुदै गएको बताएका छन् । ‘मैले चुनाव प्रचार गर्न आउदा तपाईहरुसंग वाचा गरेको थिए, तपाईहरुले मलाई बिश्वास गर्नुभयो, अब सेवा गर्ने पालो मेरो’ उनले भने ‘अझै जनताका धेरै आवस्यकता पुरा गर्न बाँकी छन, ढुक्क हुनुस् सबै पुरा हुन्छन् ।’

अबको ४ बर्षमा संवृद्ध नगर बनाउने आफ्नो सपना रहेको भन्दै नगरप्रमुख पन्तले विकासमा राजनिती नगर्न सबैलाई आग्रह समेत गरेका छन् । ‘राजनिती त चुनावका बेला गर्ने हो, मलाई को एमाले, को माओवादी को राप्रपा र को काँग्रेस हो त्योसंग मतलब छैन, मलाई केबल विकास हुनुपर्छ, संबृद्ध नगर बन्नुपर्छ भन्नेमा मतलब छ’ उनले भने ‘यो अवसर हो, यसमा सबैले हातेमालो गर्न आवस्यक छ, विकासमा राजनिती गर्न आवस्यक छैन ।’ आफुले सबै जातजाती र धर्मावलम्बीहरुको सम्मान सहित विकास चाहेको पनि उनले बताएका छन् ।

हाल एउटा कोठामा संचालन भइरहेको स्वास्थ्य केन्द्रमा नगरपालिकाबाट १ जना अहेव र १ अनमीको ब्यवस्था गरि सेवा प्रदान भइरहेको वडाध्यक्ष मियाँको भनाई छ । सवास्थ्य केन्द्रको गत सालको माघ १३ गते उद्घाटन गरिएको थियो ।

त्यस्तै यसै वडा नम्बर २ मै कतार रेडकृसेण्ट र नगरपालिकाको संयुक्त लगानीमा गाइखुरमा ४१ लाखको मदरसा भवन, ८६ लाखको जुडीखोला आहाले भञ्ज्याङ्ग खानेपानी आयोजना र १० लाख बराबरको सिंचाइ आयोजना समेत निर्माण भइरहेको वडाध्यक्ष मियाँको भनाई छ ।