कृष्णनगरमा कर्फ्यु हटाइयो

Maitrinews

 

कपिलवस्तु । सीमा बजार कृष्णनगरमा ४ घण्टा कर्फ्यु हटाइएको छ । सोमबार बिहान ८ बजेदेखि १२ बजे सम्मलाई कर्फ्यु हटाइएको प्रहरी प्रमुख अच्युतप्रसाद पुडासैनीले बताए ।
दुर्गा मूर्ति परिक्रमा गर्ने क्रममा शुक्रबार साँझ जुुलुस माथि ढुंगा हानिएपछि विवाद हुँदा ३ दिनदेखि तनावग्रस्त कृष्णनगरमा आइतबार साँझ ५ बजेबाट अनिश्चितकालिन कर्फ्यु लगाइएको थियो ।
अवस्था सहज बन्दै गएपछि केही समयमालागि कर्फ्यु हटाइएको प्रजिअ अर्जुनप्रसाद पोखरेलले बताए । १२ बजेपछि अवस्था हेरेर कर्फ्यूलाई निरन्तरता दिने नदिने बारे निर्णय लिइने उनले बताए ।
पूर्वमा सेमरा गाउँ, पश्चिममा झण्डेनगर सिर्सिहवा चोक, उत्तरमा शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कर्फ्यु लगाइएको थियो । कर्फ्यूका समयमा घर बाहिर निस्कन, आवतजावत गर्न, भेला र जुलुस गर्न प्रतिबन्ध लगाइएको छ ।

तनावका कारण शुक्रबार बिसर्जन गर्न लागेको दुर्गा मूर्ति आइतबार साँझ ७ बजे मात्र बिसर्जन गरिएको थियो । कर्फ्यु लगाएर मूर्ति स्थानीय सुरई खोलमा बिर्सजन गरियो । भारतीय एसएसबीले पनि सीमामा असहज स्थिति भएकाले सतर्कता अपनाएको छ ।