आर्थिक समृद्धिको बाटोमा उत्तर कोरिया —विवेक श्रेष्ठ

Maitrinews

 

एउटा सानो मुलुकले पनि विश्वमा कसरी आफ्नो मान मर्यादा ह्वात्तै बढाउन सक्दो रहेछ भन्ने उदाहरण उत्तर कोरियाले दिएको छ । वर्ष दिनअगाडि आणविक क्षेप्यास्त्रको लगातार परीक्षण गर्दा छिमेकी मुलुकहरूको मुटुमा ढ्याङ्ग्रो बजेको कुरा ताजै छ । त्यसको लगत्तै उत्तर कोरियामाथि कडा आर्थिक नाकाबन्दी लगाइएको र अमेरिकासित भनाभन भएको पनि जगजाहेर छ । युद्धको माहोल बन्दै गएको र त्यसको तयारी पनि हुँदै गएको अवस्था देखिंदै गएको पनि हो । उत्तर कोरिया जस्तो सानो मुलुकले विश्वको सबभन्दा शक्तिशाली देश अमेरिकासित कसरी सामना गर्न खोजेको होला भन्ने जिज्ञासा चारैतिर फैलिएको पनि हो।

नेपालीको ठूलो संख्या दक्षिण कोरियामा कार्यरत रहेकाले उनीहरू पनि खतरामा पर्ने भए भन्ने शंका र भय फैलिएको हो । त्यो भयको अन्त त्यसबेला भयो जब उत्तर कोरियाका सर्वेसर्वा राष्ट्रपति किम इल उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुरमा भेटवार्ता गरे । भेटेर कुराकानी गरेका मानिसबीच अवश्य युद्ध हुने छैन भन्ने भरोसा गर्न सकिन्छ । त्यसमा पनि जुन प्रकारले अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली राष्ट्रपतिको तारिफ गरे, त्यसबाट उनीहरूबीच एकप्रकारको समझदारी भएको विश्वास गरियो । त्यो वार्तास्थलको सुरक्षा सिंगापुरस्थित गोर्खालीहरूले गरेकाले नेपालीले विशेष चाख लिनु स्वाभाविक थियो।

सानो मुलुक भए पनि नेतृत्वको चयन र मनोबलले त्यस देशको भाग्य कसरी बदलिँदो रहेछ भन्ने उत्तर कोरियाबाट उजागर हुँदैछ।
सानो मुलुक भए पनि नेतृत्वको चयन र मनोबलले त्यस देशको भाग्य कसरी बदलिँदो रहेछ भन्ने पनि उजागर हुँदैछ । किम जोङ उनका बाबु र बाजे पनि उत्तर कोरियाका राष्ट्रपति थिए । तर आफ्ना पुर्खाहरूको विचारधाराभन्दा भिन्दै किसिमको रणनीति उनले अपनाउन लागेको संकेत र विश्वास गरिन लागिएको छ । शक्तिको प्रयोगबाट नै दुवै कोरियाको एकीकरण गर्न सकिन्छ भन्ने विचारबाट उनका अग्रगामीहरू प्रेरित थिएतर अहिलेका नवयुवक राष्ट्रपतिले भने त्यो बाटो छाडेर आर्थिक विकासको बाटो हिँड्ने मनसुवा गरेको देखिन्छ।

हुन पनि उत्तर कोरियाका सबै छिमेकी मुलुक आर्थिक विकासमा धेरै अगाडि बढिसकेका छन् । दक्षिण कोरिया, चीन र जापान आधुनिक विकासका अग्रगामी नै मानिन्छन् र छोटो अवधिमा आर्थिक चमत्कार गरेका छन् । यसैबाट प्रेरित भएर उत्तर कोरियाली नेताले पनि आफ्नो मुलुकलाई आर्थिक विकासको बाटोमा हिँडाउन खोजेको विश्वास गरिएको छ । उनी पनि जापानका आधुनिक निर्माता योसिदा सिगेरु, सिंगापुरका लि क्वान यु, दक्षिण कोरियाका पार्क चुङ ही, ताइवानका चियान चिन कुओे र चीनका देङ सियाओ पिङ जस्तै उत्तर कोरियाका निर्माता हुन चाहन्छन् । यही लक्ष लिएर उनले आफ्नो देशको वैदेशिक नीतिमा ठूलो परिवर्तन ल्याएको विश्वास गरिएको छ।

हुन त यही अवस्था नेपालमा पनि नदेखिएको होइन । राजनीतिक अस्थिरता समाप्त भयो, स्थायित्व कायम भयो, त्यसैले अब आर्थिक उन्नतिको युग सुरु भयो भनेर हाम्रा प्रधानमन्त्री र मन्त्रीहरू पनि अत्यास लाग्नेगरी दोहो(याइ रहन्छन् । यसका लागि चाहिने एउटा बलियो सरकार नबनेको पनि होइन । संसद्को दुईतिहाइको समर्थन रहेको चर्चा बरोबर हुने गरेको छतर उच्च नेतृत्वले जुन एकाग्रता, साहस र बल देखाउनुपर्ने हो, सो भने देखिइरहेको छैन।

शक्तिको प्रयोगबाट नै दुवै कोरियाको एकीकरण गर्न सकिन्छ भन्ने विचारबाट उनका अग्रगामीहरू प्रेरित थिएतर अहिलेका नवयुवक राष्ट्रपतिले भने त्यो बाटो छाडेर आर्थिक विकासको बाटो हिँड्ने मनसुवा गरेको देखिन्छ।
त्यसैले नेपालको वर्तमान नेतृत्वले बोलेझैँ काममा कुनै ठोस परिणाम देखाउला भन्ने आशा मानिसले मारेका छन् । जनता निराश हुनु खतरनाक हुन्छ भनेर प्रधानमन्त्री आफैँले भनेका छन् । तर उनले नेतृत्वको कमजोरी हटाउन कुनै प्रयत्न गरेको देखिन्न। नेपालको राजनीतिक व्यवस्थाले नै कमजोर नेतृत्व ल्याउने गरेकाले पनि नेपालमा कुनै ठोस काम हुने आशा गर्न सकिन्न। आफ्नो नभए पनि अरु मुलुकले गर्न सकेको र गर्न लागेको विकासलाई हेरेर नेपालीले सन्तोष लिने गरेका छन् । यो कुरा उत्तर कोरियामा पनि लागु हुन्छ।

उत्तर कोरियाका पर्यवेक्षेकहरूले त्यहाँ हुन लागेको परिवर्तनका संकेत पाइसकेका छन् । किम जोङ उनले सुरक्षाको ठाउँमा समृद्धिको मुद्दा अगाडि बढाउँदै छन् । यसै सिलसिलामा उनले निर्णय गर्ने अधिकार विकेन्द्रीकरण गरेका छन् । उनले किसानलाई आफ्नो उत्पादन बिक्री गर्ने स्वतन्त्रता दिएका छन् । कलकारखानाका व्यवस्थापकहरूले कामदारको तलब र उत्पादनमा के गर्नुपर्ने हो निर्णय गर्न सक्ने बनाएका छन् । उनले स्थानीय साना साना बजार र निजी व्यवसायमाथि नियन्त्रण गर्न छाडिदिएका छन् । यी कदमबाट उनले उत्तर कोरियामा पूर्वी एशियाका अरु देशमा भएको आर्थिक पद्धति अंगाल्न खोजेको विश्वास गरिएको छ।

यो कुरा उत्तर कोरियाको सञ्चारमाध्यम र अरु आर्थिक गतिविधिमा पनि देखिन थालिएको छ । राष्ट्रपति किम जोङ उन पनि आजकल शस्त्रास्त्रको कारखाना र आणविक हतियार उत्पादन केन्द्रमा नगएर कृषि फार्म, कारखाना र पर्यटन स्थलहरूको भ्रमण गर्ने गर्छन् । यस वर्षको राष्ट्रिय दिवस उत्सवमा नयाँ ठूलाठूला हतियार प्रदर्शन नगरिएको विश्वास गरिएको छ।

यस गतिलाई अरु प्रोत्साहित गर्न दक्षिण कोरियाले पनि धेरै मद्दत गर्ने तत्परता देखाएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जा इनले आफ्नो हालैको उत्तर कोरियाली भ्रमणमा यस दिशातिर जाने मनसायलाई सघाउन इच्छा प्रकट गरेका थिए । राष्ट्रपति मुनले आफूसित आर्थिक गतिविधिका अग्रणीहरूलाई सँगै लिएर गएका थिए । त्यसमा दक्षिण कोरियाको साम्सुङ कम्पनी र अरु ठूला कम्पनीका प्रतिनिधि सामेल थिए । उत्तर कोरियाले दक्षिण कोरियाले जस्तो विकास गर्न सके दुई आर्थिक उन्नतिशील देशहरू जोड्न सजिलो हुने कुरा भनेका छन् । जर्मनीको एकीकरण हुँदा पश्चिम जर्मनीले पूर्वी जर्मनीलाई आर्थिक स्तर उठाउन धेरै त्याग गर्नुपरेको थियो । त्यस्तो अवस्था नदोहोरियोस् भनेर दक्षिण कोरियाले चाहेको देखिन्छ।

यी प्रयत्नहरूका बीचमा एउटा समस्या गम्भीर देखिएको छ । अमेरिका चाहन्छ कि उत्तर कोरियाले सबै आणविक हातहतियार बनाउन, प्ररीक्षण गर्न र प्रयोग गर्न सक्ने क्षमता बनाउन छाडोस् । उत्तर कोरियाले त्यस प्रकारको मनसाय प्रकट पनि गरिसकेको छ । तर त्यसो गर्नुअगाडि उसको सुरक्षा, विकास र समृद्धि गर्ने आश्वासन र रणनीति प्रष्ट हुनुपर्ने कुरामा जोड दिएको छ । एउटा हातले आणविक शक्ति परित्याग गर्ने तर अर्को हातले आफ्नो देशको समृद्धिलाई सुदृढ बनाउने नीति लिएको देखिन्छ । यस रणनीतिलाई धेरैले समर्थन गर्न खोजेका छन् । कारण, उत्तर कोरियालाई आणविक शक्ति राष्ट्र हुन उक्साउनु भन्दा आर्थिक विकासको लाभ दिएर शस्त्रास्त्रबाट निरुत्साहित गर्नु बुद्धिमानी हुने मानिन्छ । त्यसकारण यस विषयमा दक्षिण कोरिया गम्भीर देखिएको छ । उति नै गम्भीर अमेरिकालाई बनाउन कोसिस गर्दै पनि छ । आर्थिक समृद्धि गर्ने लक्ष पूरा गर्ने हो भने नेपालले यसबाट सिक्न सक्ने धेरै कुरा छन् । के हामीले त्यस दृष्टिबाट यसलाई हेरेका छौँं ?