छठ पर्वले राष्ट्रिय एकता अभिबृद्धि : राष्ट्रपति

 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
सूर्य देवता र छठी माताको पूजाराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपतिले आज जारी गर्नुभएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।
यसै अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले ‘अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारकै मौलिक र पवित्र पर्व छठले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

उपराष्ट्रपतिले सन्देशमा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ मनाइने छठले समृद्ध नेपाल निर्माणको अभियानमा हातमा हात मिलाएर अघि बढ्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना गर्नुभएको छ ।
यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छठले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा सामाजिक र पारिवारिक सम्बन्धलाई सुमधुर बनाउने बताउनुभएको छ ।
सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई शुभकामना सन्देश दिँदै छठले एकापसमा एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभएको छ । छठबाट सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप, धार्मिक सहिष्णुता र सहमति कायम गर्दै नेपालको समृद्धिको सपना पूरा गर्न प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दै उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
‘छठ पर्व’का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मुख्यरुपमा तराई–मधेशमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालेकामा खु्शी व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात् गर्ने र मनाउने फराकिलो संस्कृतिको विकास भएको छ । यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहार्दतामा वृद्धि गरेको छ । छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको छ ।”
प्रधानमन्त्रीले छठ पर्वबाट हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटामा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीलेसमृद्धि र विकासका लागि शुरु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियानमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइलाई गोलबद्ध हुन आग्रह पनि गर्नुभएको छ ।
“पृथ्वीमा उर्जाको सबैभन्दा शक्तिशाली स्रोत सूर्यको आराधना गर्नु सांस्कृतिक र धार्मिक विश्वासको निरन्तरता मात्र होइन, सूर्यको उपासना वैज्ञानिक दृष्टिले पनि उपयुक्त छ”, शुभकामना सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले आफूले नेतृत्व सम्हालेदेखि नै मुलुकलाई गरिबीको दुश्चक्रबाट मुक्त गर्न सरकारले काम गरिरहेको उल्लेख गर्नुभएको छ । अबको चार वर्षभित्र मुलुकलाई विकास र समृद्धिको मार्गमा हिंँडाउने सङ्कल्प प्रधानमन्त्रीले दोहो¥याउनुभएको छ ।
“मुलुकमा राजनीतिक स्थायित्व कायम भएको छ । अब हामी अल्झिनुपर्ने कुनै पनि मुद्दा र विषय बाँकी छ्रैन् । मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्नुछ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “मुलुकलाई समृद्ध बनाउने अभियानमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरुले काम गरिरहेका छन् ।”