नेपालमा लगानी गर्न चिनियाँ महिला व्यवसायीलाई आग्रह

Maitrinews

 

काठमाडौँ । नेपाल र चीनका व्यवसायीउद्यमी महिलाहरु उत्पादित सामग्री तथा प्रविधि आदानप्रदान गर्न सहमत भएका छन् । नेपाली उद्यमी महिलाले चिनियाँ उद्यमी महिलालाई नेपालमा लगानी गर्न आह्वान समेत गरेका छन् ।
नेपाल महिला चेम्बर अफ कमर्स र चीनका महिला व्यवसायी उद्यमी (बेइजिङ इन्टरनेसनल वुमन सेन्टर)बीच नेपाली उद्यमी महिलाले उत्पादन गरेका सामग्री चीनमा निर्यात गर्ने वातावरण बनाउने विषयमा सकारात्मक छलफल भएको छ ।
बेइजिङ इन्टरनेसनल वुमन सेन्टरका अध्यक्ष ली होङ मेईको नेतृत्वमा काठमाडौँ आएको आठ सदस्यीय चिनियाँ महिला उद्यमी प्रतिनिधिमण्डल र नेपाल महिला चेम्बर अफ कमर्सबीच विभिन्न विषयमा सहमति भएको छ ।


समृद्ध नेपाल,सुखी नेपालीको नारा दिएको वर्तमान सरकारले लगानीमैत्री वातावरण बनाएकोले नेपालमा लगानी गर्न चिनिया उद्यमी महिलालाई आग्रह गरिएको साथै नेपाली नेपाली उद्यमी महिलाले उत्पादन गरेका उत्पादन सामग्री चीनमा निर्यात गर्ने वातावरण बनाउन चिनियाँ पक्ष सकारात्मक रहेको नेपाल महिला चेम्बर अफ कमर्सका अध्यक्ष प्राडा अन्जान शाक्यले बताउनुभयो ।
उहाँले नेपालको उत्पादनलाई अन्तर्राष्ट्रिय गुणस्तरको बनाउन आवश्यक तालिम र प्रविधि उपलब्ध गराउन चिनियाँ प्रतिनिधिमण्डललाई आग्रह गरिएकोमा उहाँहरु सकारात्मक बन्नु भएको र चिनियाँ बजार विस्तारकालागि पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको बताउनु भयो ।
नेपाल र चीनका व्यवसायी उद्यमी महिलाहरुबीच भएको अन्तरक्रियामा चिनियाँ प्रतिनिधिमण्डलका अध्यक्ष लीले नेपाली महिला उद्यमीसँग मिलेर काम गर्ने साथै नेपाली महिलाका उत्पादनलाई चीनको बजार विस्तार गर्न सहयोग गर्ने बताउनुभयो ।