मुख्यमन्त्री सम्मेलन मंसिर २३ गते हुने

Maitrinews

काठमाडौँ । २५ भदौका लागि तय भएर अन्तिम घडीमा स्थगित अन्तरप्रदेश परिषद् बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले २३ मंसिरका लागि डाक्नुभएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले मंसिर महिनाभित्र परिषद् बैठक सम्पन्न हुने बताउनुभयो । ‘यसअघि स्थगित परिषद् बैठक मंसिर महिनाभित्र सम्पन्न हुन्छ,’ रिमालले भन्नुभयो ।
संविधानको धारा २३४ मा अन्तरप्रदेश परिषद् गठन हुने व्यवस्था छ । संघ र प्रदेश तथा प्रदेश–प्रदेशबीच उत्पन्न हुने राजनीतिक विवाद समाधान गर्न परिषद् गठन गर्ने व्यवस्था राखिएको हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् । परिषदमा केन्द्र सरकारका गृह र अर्थमन्त्री तथा मुख्यमन्त्रीहरू सदस्य रहने व्यवस्था छ । आवश्यकताअनुसार बैठक बस्ने उल्लेख छ ।
परिषद् बैठकको तयारीका लागि प्रधानमन्त्री कार्यालयका चार सचिवको टोली सातवटै प्रदेश पुगेर स्थलगत अन्तरक्रिया गरेका छन् । उनीहरूले प्रदेशका समस्या समेटिएको प्रतिवेदन तयार गरिसकेका छन् । तिनै गृहकार्यका आधारमा परिषद् बैठकमा छलफल हुने प्रधानमन्त्री कार्यालयका एक सचिवले बताए ।