फिदा हुसेन हत्या प्रकरणले दुहबी तनावग्रस्त

Maitrinews

 

सुनसरी । सुनसरीको दुहबीमा अज्ञात बन्दुकधारीले ५४ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानी हत्या गरेको विरोधमा हुसैनको शव सडकमै राखेर बिहीबार बिहानै देखि प्रर्दशन गरिरहेका छन् ।
दुई महिनाअघि हत्या भएका भुटाहाका खुर्सिद अन्सारीको हत्यारा प्रहरीले पत्ता लगाउन नसकिरहेको बेला सोही शैलीमा अर्को हत्याकाण्ड भएको भन्दै स्थानीय बासिन्दा आक्रोसित बनेका छन्। दुहबी–९ मा सञ्चालित जय बाबा ईँटा उद्योगका सुपरभाइजर समेत रहेका हुसेनको बुधबार बिहान साढे ५ बजे मर्निङवाकमा निस्कदा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा उनीमाथि गोली हानेका थिए।
प्रशासनले सुरक्षा दिन नसकेको र हुसेनको हत्या भएको २४ घण्टा बितिसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै प्रदर्शन गर्दा दुहबी बजार बिहीबार पनि तनावग्रस्त बनेको छ। तनावग्रस्त अवस्थालाइ मध्यनगर गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ।

कोशी राजमार्गमा पाल टागेर धर्ना दिएका हुसेनका आफन्त र समर्थकहरुले ५ बुँदे माग पुरा नभए सम्म प्रदर्शन जारी राख्ने बताएका छन्। उनीहरुले प्रशासनले हेलचेक्र्याईँले सुनसरीमा मुस्लिम समुदाय असुरक्षित बनिरहेको गुनासो गरेका छन्। हत्याकाण्डमा राज्य पक्ष गम्भीर नभएकोमा आफू चकित रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ का सचिव ओम थापाले जनाएका छन्।

उता सुनसरी प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र फुयाँलले फिदा हुसेनको हत्या अनुसन्धान गर्न नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय काठमाडौंको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० टोलीले अनुसन्धान सुरु गरेको जनाएका छन्। प्रहरी नायब उपरीक्षक ९डीएसपी० हिराबहादुर पाण्डेसहित दुई जनाको टोली हुसेनको हत्या अनुसन्धान गरिरहेको बताइएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले सिआईबीको टोलीले घटनाको सत्यतथ्य पत्ता लगाउन भूमिका खेल्ने बताए। हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने बारे प्रहरीले अझै सुराक पाउन सकेको छैन।

सडकमा टायर बालेर प्रदर्शनकारीहरुले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत दिनुपर्ने, मृतक हुसेन विद्युत प्राधिकरणका जागिरे भएकाले उनको ठाउँमा छोरालाई जागिर दिनुपर्ने माग समेत गरेका छन्। प्रदर्शनका कारण विराटनगर इटहरी खण्डमा यातायात आवागमन बन्द भएको छ।

मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै सो समुदायका अगुवाले चिन्ता व्यक्त गरेका छन्। हुसेनको हत्या घटनाको आशंकामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएपनि नाम सार्वजनिक गरेको छैन। यसअघि सुनसरीको हरिनगरा २ भुटाहामा खुर्सिद आलमको यसै गरी गोली हानी हत्या भएको थियो।