गुटको नेतृत्व गर्नेले काँग्रस पार्टी हाँक्न सक्दैन —डा. रामशरण महत,नेता, नेपाली काँग्रेस

Maitrinews

 

नेपाली कांग्रेस आन्तरिक विवादमा अल्झिएको हो ?

कांग्रेसले पछिल्ला निर्वाचनमा पराजय भोग्नुपर्‍यो । पराजयबाट कार्यकर्ता मात्र होइन, आमजनता निराश छन् । लोकतन्त्रमा विश्वास राख्ने र त्यसको प्रवर्द्धन गर्ने एक मात्र पार्टी कांग्रेसलाई सुधारको बाटोमा कसरी लैजाने भन्ने चिन्ता सबैमा छ । तर, पार्टी नेतृत्वमा दूरदृष्टि देखिएन । सबैलाई एकताको सूत्रमा बाँध्ने प्रयास नेतृत्वबाट हुन्छ भन्ने आम कार्यकर्ताको भावनामा तुषारापात भयो । गुटबन्दीको आरम्भ पनि नेतृत्वबाटै भयो । त्यसले व्यक्तिवादी प्रवृत्ति हुर्कायो । आफू कसरी बलियो हुने भन्नेमा नेतृत्व केन्द्रित भयो । गुटबन्दी हाबी हुँदा पार्टी कमजोर हुनु स्वाभाविक हो । यो नेतृत्वको लहड र व्यवस्थापकीय कमजोरीको परिणाम हो । हामीले संगत गरेका शेरबहादुर देउवा यस्ता थिएनन् तर किन यस्ता भए, कसको दबाबमा परे स्पष्ट पार्न सक्नुपर्छ । कांग्रेसलाई बलियो बनाएर सबल नेतृत्व दिन हामी लागिपरेका छौं ।

कांग्रेसप्रति जनविश्वास घट्दै गएकाले युवापंक्ति नयाँ खुलेका दलप्रति आकर्षित भएका हुन् ?

जनविश्वास र जनाधार गुमेको छैन । नेतृत्व र उनीहरूको गतिविधिप्रति भने गुनासा छन् र तीव्र असन्तुष्टि पनि । यतिबेला कांग्रेसलाई ठूलो मौका छ । दुईतिहाइ बहुमतको सरकारका गतिविधिले जनतामा कांग्रेसको स्मरण भइरहेको छ । हामीले के गर्‍यौं र सरकारले के गर्दैछ भन्ने जनतामा छर्लंग छ । यसलाई प्रमुख प्रतिपक्षले ‘क्यास’ गर्न सक्नुपर्छ । कांग्रेस लोकतन्त्रको पहरेदार हो भन्ने छाप आम नागरिकमा मात्र होइन, विश्व समुदायमा समेत परेको छ । सरकारका पछिल्ला गतिविधिले त विश्व समुदाय कांग्रेसप्रति झनै विश्वस्त देखिएका छन् । यसको प्रवर्द्धनका लागि पनि दलभित्रको चुस्त व्यवस्थापन प्रमुख सर्त बन्न सक्नुपर्छ । दललाई व्यवस्थित बनाउन सके कांग्रेसप्रति विश्वास झनै बढ्छ ।

कांग्रेस बलियो बन्ने संकेत देखिएका छैनन् त ?

हो, सबै कमजोरीको जिम्मा नेतृत्वले लिनुपर्छ । नेतृत्व यति बलियो छ कि अरूले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन । नेविसंघको महाधिवेशन र विधानको विषयमा नेतृत्व हावी देखिएको छ, तर दूरदृष्टि देखाउने छाँटकाँट छैन । विधानअनुसार समिति नै भंग गरेर संघको अधिवेशन तयारी समिति बनाएको भए उचित हुन्थ्यो । आफू पक्षधर कमजोर होला भन्ने चिन्ताले सहज बाटो पछ्याउन कठिनाइ भइरहेको छ । आफू कसरी शक्तिशाली हुने भन्ने प्रवृत्ति नै समस्या हो ।

नेतृत्वले आफूलाई केन्द्रमा राखेर काम गरिरहेको निष्कर्ष तपाईंको हो ?

देउवा आफैं भनिरहनुभएको छ– म पुनः सभापति हुन्छु । समस्या यही नै हो । कांग्रेसलाई धराशायी बनाउने अनि फेरि नेतृत्वको दाबी गर्नु कत्तिको उचित होला ? हो, लोकतन्त्रमा दाबी गर्न पाइन्छ तर त्यसो भन्दैमा आफूअनुकूल सबै मिलाउनु लोकतान्त्रिक धार होइन । पदमुखी कांग्रेस अहिलेको समस्या हो । मुलुक, दल, समाज अनि व्यक्ति हो । तर नेतृत्व आफू, परिवार र गुटमा केन्द्रित देखिएको छ । अहिले सिर्जित समस्या पनि यसैको परिणाम हो । यस्तो प्रवृत्ति कायम रहे मुलुक, दल र जनताको हित हुन सक्दैन ।

सभापतिसँग तपाईंको संगत लामो हो तर एकाएक आलोचक भएर उत्रिनुभयो त ?

सामान्य दलीय सम्बन्ध छ । विद्यार्थीकाल र संसद् विघटन हुनुअघिसम्मको अवस्थाको जस्तो सम्बन्ध छैन । हो, हाम्रो सम्बन्ध विद्यार्थी कालदेखिकै हो । नेविसंघमा उहाँ सभापति हुँदा म महामन्त्री थिएँ । उहाँलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउँदा मलगायतको ठूलो सहयोग र भूमिका थियो । तर, उहाँले २०५९ जेठ ८ को मध्यरातमा संसद् विघटन गरिदिनुभयो । त्यतिबेला आम जनतामा राजा हावी भई प्रजातन्त्र खतरामा पर्ने टिप्पणी पनि भए । उहाँको त्यो हर्कतले म, आमोद उपाध्याय र राजेन्द्र खरेलजीले राजीनामासहित यो कार्य राम्रो नभएको भन्दै उहाँलाई सचेतसमेत गरायौं । दलमा छलफलसम्म नगरी यत्रो निर्णय लिनु गलत थियो । त्यसपछि उहाँप्रति हाम्रो आशंका रह्यो, जुन पछि देखियो पनि । कताकता त्यही ढंगको काम भइरहेका छन् । त्यसैले त हामी भनिरहेका छौं– नेतृत्वमा दूरदृष्टि भएन । सानो गुटमा रमाएर सिंगो पार्टीको नेता हुन सकिन्न ।

नेतृत्वलाई कमजोर र दूरदृष्टि नभएको भनिरहँदा पार्टीका अन्य पदाधिकारी र नेताहरू के गरिरहेका छन् ?

मुख्य त नेतृत्व नै हो । नेतृत्व कति शक्तिशाली छ भने अन्यले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन । त्यसैले त सामूहिक नेतृत्वको विषय उठिरहेको हो । सर्वस्वीकार्य र दूरदृष्टि भएको व्यक्ति सभापति नहुँदा ‘शक्तिशाली सभापति’ हुनु नै दलका लागि दुर्भाग्य भएको छ । यही विषयमा छलफल चलिरहेको छ । पार्टीमा हाबी गुटबन्दी व्यवस्थापन गर्न सामूहिक नेतृत्वको आवश्यकता महसुस भइरहेको हो । सभापतिको भूमिका न्यून हुुनपर्छ भन्ने भावना बढ्दो छ ।

पार्टीको विधानमा पनि समस्या देखिएको छ । यसको सम्बोधन कसरी होला ?

विधान संशोधन गर्ने विषयमा धेरै स्थानमा परामर्श भएकाले विवाद भए झैं देखिएको हो । सबैबाट आआफ्नो धारणा राख्ने काम भइरहेको छ । हल्ला हुनु स्वाभाविकै हो । अब नेतृत्वमा रहेका अनुभवी व्यक्ति बसेर यसको निरूपण हुनुपर्छ । आशा छ– विधान सबैको सहमतिमा आउनेछ । नेतृत्वको इच्छाशक्ति भए सहमतिमा आउन असहज छैन ।

विधान समितिले काम गरिरहेको छ भनिए पनि किन अडकिरहेको त ?

एकातिर कार्यसमिति ठूलो बनाउनुपर्ने माग छ भने अर्कोतिर प्रदेशतिर सानो संरचना हुनुपर्छ भन्ने विषय उठेको छ । पदाधिकारी थोरै राख्ने एउटा विचार छ भने सामूहिक नेतृत्वमा जानुपर्ने अर्को विचार । केन्द्रको जस्तै माग प्रदेशको पनि छ । एकथरीबाट सभापतिलाई अधिकारसम्पन्न बनाउने र अर्कोथरीबाट सामूहिक नेतृत्वमा जानुपर्ने माग आइरहेको छ । सभापति बलियो हुँदाभन्दा सामूहिक नेतृत्वमा जाँदा पार्टी बलियो हुन्छ भन्ने मेरो दृष्टिकोण हो । किनकि बलियो सभापतिबाट निष्पक्ष ढंगबाट व्यवस्थापन हुने सकेन ।