विकास जादुको छडी होइन, केही समय लाग्छ : सांसद डा. शाक्य

 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी( नेकपा) का प्रदेश ३ का सांसद डा. अजयक्रान्ति शाक्यले विकास भनेको जादुको छडी होइन, कही समय लाग्छ भन्दै हल्लाको पछि नलागी धैर्य गर्न मतदाताहरुलाई आह्वान गर्नुभएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र जाइका एल्मुनाई एसोसिएसन नेपाल(जान)को आयोजनामा आयोजित निःशुल्क आँखा जाँच शिविरको उद्घाटन अवसरमा मन्तव्य व्यक्त गर्नुहुँदै कार्यक्रममा प्रमुख अतिथि डा. शाक्यले भन्नुभयो, वर्तमान सरकारले विकास,निर्माणको अभियान सुरु गरिसकेको छ, यसको परिणाम देखिन दुई तीन वर्ष लाग्छ । त्यतिबेलासम्म धैर्य गर्न म आम मतदातालाई आग्रह गर्दछु । पाँच वर्षभित्रमा हामीले उल्लेख्य काम गरेर देखाउने छौँ ।
उहाँले चुनावका बेला मतदातासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न सरकार प्रतिबद्ध रहको बताउँदै भन्नुभयो, केही मिडिया र सोसल मिडियाको दुरुपयोग गरी अहिले विपक्षीले सरकारलाई खुइल्याउने गरी जुन किसिमको भ्रम र झूठको खेती गरेको छ , त्यसका पछि नलगी सत्यतालाई आत्मसात् गर्नुहोस् । यो सरकार जनताको सरकार भएकाले जनताको हित र कल्याणबाहेक अरु सोच्न सक्दैन ।


सांसद डा. शाक्यले आफ्नो क्षेत्रमा आई बहुजन हिताय,बहुजन सुखाय भन्ने भावना लिई जानले निःशुल्क आँखा जाँच शिविर आयोजना गरेकोमा सो कार्यको प्रंशसा गर्दै आगामी दिनमा थप सामाजिक कार्य हुने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा सभापति जानका अध्यक्ष डा. रामचन्द्र प्रसादले जानले गरेका गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने जानका महासचिव शान्तिलक्ष्मी शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अतिथि काठमाडौँ महानगरपालिका वडा नं. १४ का अध्यक्ष शोभा सापकोटाले वडामा भइरहका गतिवधिबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, अतिथिहरुको सामूहिक आँखा परीक्षण गराएर गरिएको थियो । निःशुल्क आँखा जाँच शिविरमा ७५ जनाभन्दा बढीले आँखा जाँच गराएका थिए ।