कम्बोडियाका प्रधानमन्त्री र म्यान्माका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यान्माका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री आङ साङ सुकी दुईदिने नेपाल भ्रमणमा आउन लाग्नुभएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी उहाँहरु सद्भावना भ्रमणका क्रममा यही मङ्सिर १३ र १४ नेपाल भ्रमणमा आउन लाग्नुभएको जनाएको छ । भ्रमणका क्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली र उहाँका समकक्षी हुन सेनबीच आपसी हित, द्विपक्षीय चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । कम्बोडियाका प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।

यस्तै म्यानमाका विदेशमन्त्री सुकीले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्टेट काउन्सिलर एवम् परराष्ट्रमन्त्रीको हैसियतमा भने सुकीको पनि यो पहिलो भ्रमण हो । नोबेल शान्ति पुरस्कार विजेताको हैसियतमा भने उहाँ यसअघि पनि नेपाल भ्रमणमा आउनुभएको थियो ।