काठमाडौँ महानगरका मेयरले के गर्न खोजेको ?

Mohan Bastola

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकपछि अर्को गर्दै जनपक्षीय काममा ध्यान दिन थालेको छ । महानगरपालिका भित्रको धुँलो सफा गर्ने, अध्याधुनिक पार्क, पोखरीहरु निर्माण गर्ने जस्ता अभियानमा सक्रिय बन्दै आएको महानगरपालिकाले अब यही पौष १ गतेदेखि काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा ‘पिक एण्ड ड्रप’ को व्यवस्था गर्ने भएको छ । यो व्यवस्थासँगै सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न पाउँदैनन् भने सर्वसाधारणले पनि भिडभाडबाट केही हदसम्म भए पनि मुक्ति पाउने छन् । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद हुने गरेको, इन्धन जलेर वातावरणमा ह्रास आएकोलगायतका कारण यस्तो व्यवस्था गर्ने तयारी महानगरपालिकाले थालेको हो ।

राष्ट्रियसभा गृहमा सरोकारवालासँगको बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सडकमा यात्रु पर्खेर रोक्ने एउटा सवारी साधनले धेरै मानिसको समय बर्बाद गरेको, सवारी जामले मानिसको उत्पादनशीलता घटाएको, लामो समय इन्धन जलेकोले वातावरणीय ह्रास पैदा गरेको जस्ता कारण ‘पिक एण्ड ड्रप’ को व्यवस्था गर्न लागेको बताउनुभयो । जथाभावी पार्किङ गर्दा सडक चौडा बनाए पनि समस्या जहाँको त्यहीँ रहेको पनि उहाँले बताउनुभयो । ‘अब यातायात व्यवसायीसँगै सरकारी सरोकारवाला कार्यालयको सहकार्यमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू गर्छौ ।यसको नेतृत्व हामी गर्छौ, तपाईहरु साथमा आउनोस् ।’

बैठकमा महानगरका प्रमुख प्रशाशकीय अधिकृत यादवप्रसाद कोइरालाले सबै मिलेर असम्भव हुनबाट जोगाउँ भन्नुभयो । ‘बरु यातायात व्यवसायी गर्नु पर्ने छलफललाई तीब्र बनाउँ । टुँडिखेललाई केन्द्रमा राखेर हेर्दा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीदेखि भद्रकालीसम्म सबैभन्दा बढी समस्या छ,’ उहाँले भन्नुभयो ।
बैठकमा महानगरका सहसचिव डा. टोकराज पाण्डेले नमूनाका रुपमा निश्चित ठाउँमा ‘पिक एण्ड ड्रप’ लागू गर्ने र यसको प्रभाव विश्लेषण गरेर विस्ता गरिने बताउनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले यस अघि विभिन्न समितिले दिएको रुट स्वीकृतको पूर्ण विवरण विभागमा नभएकाले समस्या भएको कुरा उल्लेख गर्दै पौष १ गतेदेखि कार्यान्वयन तयारीमा रहेका काठमाडौंका ६६ वटा रुटको प्रभावकारी सञ्चालनमा पनि साझेदारिता हुनु पर्नेमा जोड दिनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापाले पूर्वाधार तयार भएपछि व्यवहार परिवर्तनमा सहज हुने बताउनुभयो ।
महानगरको शुशासन विभागका प्रमुख हरिबहादुर कुँवरको संयोजकत्वमा गठित समितिको सदस्यमा सडक डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजन इञ्जिनियर रामबहादुर गुरुङ्, साना ठूला सवारी एकान्तकुनाका उपसचिव बसन्त पन्थी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक कृष्णदत्त भट्ट हुनुहुन्छ । समितिको सदस्य सचिवमा नगर प्रहरी महाशाखाका प्रमुख बिष्णु जोशी रहनु भएको छ । समितिलाई ७ दिनको समय दिइएको छ ।