चीन जोड्ने मितेरी पुलको पुनर्निर्माण कार्य सुरु , तातोपानी नाका खुल्ने ग्रिन सिग्नल

Maitrinews

 

सिन्धुपाल्चोक । चीन जोड्ने मितेरी पुलको पुनर्निर्माण कार्य सुरु गरिएको छ । अब बन्द तातोपानी नाका खुल्ने भएको छ । चिनियाँ सरकारी कम्पनी ‘टीआईएन एसचयून आरओएडी एन्ड ब्रिज कम्पनी’ ले मितेरी पुलको पुनर्निर्माण थालेको हो । भूकम्प, भोटेकोसी बाढी, बर्खाको सुक्खा पहिरोले क्षतिग्रस्त मितेरी पुल जीर्ण भएपछि माथिल्लो भागमा बेलिब्रिज राखिएको थियो ।
‘बाढीले ध्वस्त भएको मितेरी पुलको तल्लो संरचनाको ‘साइड स्ट्रक्चर’ को काम गरिरहेका छौं,’ चिनियाँ ब्रिज कम्पनीका ठेकेदार ‘पुबु क्वी जी’ को भनाइ उद्धृत गर्दै भोटेकोसी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले भनिन् ।

उनले आउँदो ‘मे’ महिनामा यहाँको भौतिक संरचनाको काम सकिसक्ने कार्ययोजना लिएर ठेकेदार कम्पनी अगाडि बढेको सुनाइन् । भूकम्पपछि बन्द भएको व्यापारिक नाका तातोपानी क्षेत्रको भौतिक संरचनाको काम धमामध हुन थालको छ । चिनियाँ कम्पनी चाइना रेलवे कन्ट्रक्सन ग्रुप कम्पनी ९सीआरसीसी० ले सीमा जोड्ने जीर्ण सडकको धमाधम मर्मतसम्भार गरिरहेको छ । ‘सुक्खा बन्दरगाह र सडक, पुलको कामलाई एकैसाथ अगाडि बढाइनुले नाका खुल्ने ‘ग्रिन सिग्नल’ दिएको देखिन्छ,’ उनले भनिन् ।

तातोपानी क्षेत्रको लिपिङको सडक बनाइसकेपछि सवारी आउजाउ गरेर एक पटक नाका खोलाइनेछ । त्यसपछि मितेरी पुलको संरचनासँगै लिपिङ बजारको भग्नावेश बनेको संरचना भत्काउँदै लगिने चीनको योजना छ । सरकारी सम्झौतानुसार अहिलेको ८ मिटर मितेरी पुललाई पछि १२ मिटरको फराकिलो बनाइने कम्पनीले कार्ययोजना बनाएको छ ।

चीनको सीमातर्फ सुरक्षार्थ खटिएका प्रहरी अधिकारीका अनुसार तातोपानी नाका खुलाउन चीन पूर्ण तयारीमा जुटेको छ । क्षतिग्रस्त चीनको मितेरी पुलदेखि खासासम्मको ७ किमि सडक पुनर्निर्माण सकिने लागेको छ । ‘नाका खोल्नको लागि भनेर ५ महिना नबित्दै यहाँको भौतिक संरचना तयार बनाइँदै छ,’ खासादेखि मितेरी पुलसम्मको निरीक्षण अनुगमन गरिरहेका चिनियाँ प्रहरी कप्तान टसीले भने ।