घाटामा गएको नेपाल वायुसेवा निगमलाई किन चाहियो रणनीतिक साझेदार ?

Maitrinews

 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई कम्पनीको ढाँचामा लैजाने प्रक्रिया अघि बढेको बताएका छन्।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै उनले लगातार घाटा झेलिरहेको निगमलाई बचाउने त्यो एउटा आधार हुने बताए।
त्यसका लागि आवश्यक सम्पत्ति मूल्यांकनबारे मन्त्रालयले निर्णय समेत गरिसकेको उनले जानकारी दिए।
निगमलाई त्यसरी व्यवस्थापन गर्ने विषय यसअघिका सरकारहरूले समेत गरे पनि त्यसलाई सबै सरकारले समान महत्व नदिँदा निगम झन् झन् ओरालो बाटो लागेको कतिपय जानकारहरूले बताएका छन्।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसारमा राम्रा भनिएका विमान कम्पनीहरुले यस्तो अभ्यासबाट फाइदा उठाएको बताउँदै नेपाल वायु सेवा निगमले समेत त्यसो गर्न ढिलो गर्न नहुने बताएका थिए।
त्यसको ढाँचाबारे भने उनले स्पष्ट रूपमा बोलेनन्।
त्यस्तो साझेदार संसारका प्रतिष्ठित वायुसेवा कम्पनीहरू नै हुनसक्ने र त्यसले गर्दा उनीहरूकै प्राविधिक व्यवस्थापन र सञ्जालबाट समेत फाइदा लिन सकिने बताइन्छ।

वायुसेवा चुस्त व्यवस्थापनमा मात्र फस्टाउन सक्ने व्यवसाय भएको र त्यसमा नेपाल वायुसेवा चुकिरहेको जानकारहरूको भनाइ छ ।